जनता टाइम्स

१ भाद्र २०७६, आईतवार १९:३२

प्रधानमन्त्री ओलीको अठोट : सार्वजनिक र गुठी जग्गा अतिक्रमण गर्नेलाई कानूनी दायरामा ल्याइन्छ


काठमाडौं, भदौं १ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक र गुठी जग्गा अतिक्रमण गर्नेलाई कानूनी दायरामा ल्याउने प्रतिवद्धता जनाउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिनुभएको हो ।

‘सार्वजनिक र गुठी जग्गा अतिक्रमण गर्नेलाई कानूनको दायरामा ल्याइन्छ, गैरकानूनीरूपले ओगटिएका त्यस प्रकारका जग्गालाई सरकारकै स्वामित्वमा ल्याउने काम अघि बढेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले शान्ति, सुशासन र विकासका लक्ष्य पूरा गर्न लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य रहेको धारणा पनि राख्नुभयो । प्रधानमन्त्री ओलीले सबैको सहमतिमा स्थापित हुँदै गएको लोकतन्त्रलाई खलबल पुर्याउन खोज्ने केही पुराना प्रतिगामी शक्तिलाई ठेगान लगाउन लोकतन्त्रवादीको एकता अपरिहार्य रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जनताको सर्वोच्चतालाई सुरक्षित राख्न वर्तमान सरकार अपराध नियन्त्रण गर्न र भ्रष्टाचारी तथा राजस्व छलछाम गर्ने व्यक्तिलाई कठोर कदमबाट ठेगान लगाउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले एक साताभित्र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको गठन हुने उल्लेख गर्दै बाढी पहिरोपीडित परिवारका लागि ८६९ घर निर्माण गरी समाजमा उनीहरुलाई पुनःस्थापित गर्ने लक्ष्य रहेको जानकारी पनि दिनुभयो ।

प्रधानमन्त्री ओलीले समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा बनेको संविधानको उपयुक्त कार्यान्वयन गरी जनतालाई सुखी राख्न संसद्मा गतिरोध अफाप सिद्ध हुने जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले कानून निर्माण अघि बढिरहेको, सरकार शान्ति सुरक्षामा प्रतिबद्ध रहेको, आर्थिक वृद्धिदर सात प्रतिशत रहेको, राष्ट्रिय गौरवका आयोजना निर्माण तीव्र गतिमा अघि बढेको, मन्त्रालय मातहतबाट सञ्चालन भएका सम्पूर्ण विकास निर्माण तोकिएकै समयमा सपन्न गर्न सम्बन्धित मन्त्रीसँग लिखित प्रतिबद्धता भएको सदनलाई जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रविरोधी गतिविधिलाई निरन्तरता दिने तत्वहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी पनि दिनुभयो । ‘सरकार विरोध र आलोचनाको स्वागत गर्छ, तर सरकारको संयमतालाई हेरेर केही तत्वहरु बढी हौसिएको देखिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रणाली उल्टाउँछु भन्ने, प्रगितमन ल्याउँछु भन्ने कुरा सरकारलाई सैह्य हुँदैन । जनताको शासनविरोधी क्रियाकलाप गर्ने तत्वहरु नहौसिए हुन्छ ।’

प्रधानमन्त्री ओलीले प्रतिगामीहरु सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ भन्ने नठान्न पनि चेतावनी दिनुभयो । ‘प्रधानमन्त्री लगलग कामेका छन, प्रधानमन्त्री पद जाने भए भनेको सुनेँ । पद नगएको राजा, महाराजा प्रधानमन्त्री कोही छैन । मलाई पनि अर्को चुनावदेखि बस्न मन छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘प्रतिगामी सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ, लगलग कामेको छ भन्ने नठाने हुन्छ । चिहानमा गएर हड्डी फुकेर व्यवस्था फर्काउँछु भनेर बेमौसमको बाजा नबजाए हुन्छ ।’

ब्यवस्था फर्काउछु भन्नेहरुको कुरालाई सरकारले नपत्याएको टिप्पणी पनि उहाँले गर्नुभयो । ‘अहिले सरकारले नपत्याएर हो, पत्याएका दिन गणतन्त्र, संघीयता र लोकतन्त्रको रक्षाका लागि सडक उत्रन्छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले नेकपाको सरकार कुनै सेन्टिमेन्टमा नबनेको स्मरणसमेत गराउनुभयो । उहाँले केही भएन भन्दा पनि आर्थिक वृद्धिदर उच्च भएको, बाटो, पुल निर्माण तीब्र भएको बताउनुभयो ।

‘केही भएन भन्छन, केही नहुँदा पनि ७ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, अर्को पटक ८.५ प्रतिशत पुग्छ, अर्को पटक ९.५, अर्को वर्ष ११ प्रतिशत पुग्छ, अझै केही भएन भन्नेले सजग गराएकोमा धन्यवाद,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘१४ सय किलोमिटर पिच भएको छ, ३ सय पुल बनाउँदा कम भयो भने ५ सय वटा पुल बन्छन, बाटोहरु चौडा बन्दैछ ।’