जनता टाइम्स

१० फाल्गुन २०७९, बुधबार १०:१९

राष्ट्रपतिबारे चासो राख्दै बालुवाटारमा चिनिया राजदुत


काठमाडौं, फागुन १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनको विषयमा चासो राख्नुभएको हो ।

सोङले प्रचण्डसँग आगामी राष्ट्रपति को बन्ने भन्ने बारेमा जिज्ञासा राख्नुभएको थियो भने जवाफमा प्रधानमन्त्री दाहालले दलहरुबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने बताउनु भएको छ ।

राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूत सोङबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । छन् सोङले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यस अगाडि भेटबार्ता गर्नुभएको छ ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न फागुन १३ गते मनोनयन दर्ता गर्नुपर्छ । राष्ट्रपति निर्वाचनका लागि पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकिएको छ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा दुईटा मतदान केन्द्र हुनेछन्। राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद र प्रदेशसभाका सदस्यले मात्रै मतदान गर्न पाउँछन्।

हाल प्रतिनिधिसभामा २ सय ७४ सदस्य छन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद् पद खारेज भएकाले एक पद रिक्त छ । राष्ट्रियसभामा ५९ जना सदस्य छन्। संघीय संसद्को ३ सय ३४ मध्ये ३ सय ३३ कायम छन । संघीय सांसदको मतभार २६ हजार ३ सय ७ हाल छ ।

संघीय संसद्को जम्मा मतभार भने २६ हजार ३ सय ८६ हो। प्रदेशसभामा ५ सय ५० छ । जसको मतभार २६ हजार ४ सय हुन्छ । राष्ट्रपतिको निर्वाचनका लागि जम्मा मतभार ५२ हजार ६ सय २८ छ । जसको बहुमत २६ हजार ३ सय १५ हुन्छ । राष्ट्रपति निर्वाचित हुन एकाउन्न प्रतिशत मत ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ ।