जनता टाइम्स

११ फाल्गुन २०७९, बिहीबार ०८:२२

बागमतिमा मिसन ग्रासरुट अभियान : केही केन्द्रीय सदस्यलाई दिइयो बिदा, केहीलाई थपियो जिम्मेवारी


काठमाडौं, फागुन ११ । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत बागमती प्रदेशका लागि खटाइएका केही केन्द्रीय सदस्यहरुले स्वास्थ्य लगायत विभिन्न कारण देखाई अभियानमा खट्न असमर्थता जनाएपछि पूर्वनिर्धारित केही क्लस्टर र तोकिएका केही केन्द्रीय प्रतिनिधिहरूको कार्यक्षेत्र हेरफेर गरिएको छ ।

केन्द्रीय प्रतिनिधिहरू पेम्वा लामा, शर्मिला कार्की, शिवकुमारी गोतामे र भारती पाठकले कारणवस मिसनमा खट्न नसक्ने परिस्थिति बताउनुभएकाले उहाँहरूलाई विदा दिइएको छ । स्वास्थ्य लगायतका केही व्यवहारिक कारणले कमरेडहरू कमल चौलागाईं र देवी ज्ञवाली, खेम लोहनी र गोविन्द दुलालका लागि तोकिएका क्लस्टरहरू उहाँहरूकै आपसी सहमति बमोजिम साटफेर गरिएको छ ।

यस्तै शर्मिला कार्कीलाई माग बमोजिम विदा दिइएकाले उहाँलाई तोकिएको नुवाकोटको वेलकोटगढी र तारकेश्वरमा गणेश पहाडी र शिवकुमारी गोतामे जाने भनिएको काभ्रेको नमोबुद्ध र तेमालमा यमबहादुर परियारलाई पठाउने तय भएको छ । त्यसैगरी केही भौगोलिक र व्यावहारिक कारणले सिन्धुपाल्चोकमा खटिनुभएका माधव ढुंगेलले मेलम्ची र हेलम्वुका अतिरिक्त पाँचपोखरीे, मनोजजङ्ग थापाले सुनकोशी र त्रिपुरासुन्दरीका अतिरिक्त लिशङ्खुपाखरमा पनि खट्ने व्यवस्था गरिएको छ ।

यस्तै काभ्रेमा तोकिनुभएका रामेश्वर फुँयालले बेथानचोक, पनौती र खानीखोलाका अतिरिक्त महाभारत पनि हेर्ने गरी तोकिएको छ । यस्तै नारायण सिलवालले भुम्लु र चौरिदेउरालीका अतिरिक्त रोशी पनि हेर्नुहुने छ । यसैगरी कृष्ण राई जाने भनिएको चितवनको रत्ननगर र माडी भरतपुरका लागि खटिनुहुने गोकुल बाँस्कोटाले नै जिम्मेवारी थप भउको छ भने कृष्ण राई नुवाकोटको विदुर, किस्पाङ्ग र मेघाङ्गका अतिरिक्त माधव अर्यालले हेर्ने भनिएको सूर्यगढीमा पनि खटिनुहुने छ । उपरोक्त निर्णय बागमती प्रदेशस्तरबाट गरिएको हो ।

मिसन ग्रासरुट अनुगमन सदस्य तथा पार्टीका बाग्मती प्रदेश इन्चार्ज काशीनाथ अधिकारीका अनुसार बाग्मती प्रदेशमा पूर्वघोषित ५४ क्लस्टरमध्ये अब ५१ क्लस्टर मात्रै कायम भएका छन र ५१ जना केन्द्रीय प्रतिनिधि आ–आफ्नो कार्यक्षेत्रमा जाँदैहुनुहुन्छ । काठमाडौं, रामेछाप र सिन्धुपाल्चोकमा गृहकार्यमूलक बैठक बसिसकेका छन भने फागुन १३ गतेभित्र तेह्रवटै जिल्लामा जिल्ला कमिटीका बैठक बसी कार्ययोजना बनाइसक्ने छन् ।

प्रदेश संगठन कमिटी र जिल्ला कमिटीका सदस्यहरूलाई पनि पालिका र वडाहरूको जिम्मेवारी तोकि परिभाषित जिम्मेवारीमा खटाइसकिने छ ।