काठमाडौं, फागुन ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइसीसी विश्वकप लिगका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कार दिने घोषणा गर्नुभएको हो ।
‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईंहरूलाई बधाई छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पुरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। यो देशकै गौरव हो,’ खेलाडीहरूलाई बधाई दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयो ।
पहिला पहिला खेल जीवनका लागि अनुशासनका लागि भनिने भएपनि अहिले त्यस्तो नभएको उहाँले बताउनु भयो । अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कुटनीतिक उचाइका लागि पनि भएको छ। तसर्थ, खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छु, प्रधानमन्त्री दाहालले भन्नुभयो ।
खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएकोमा खुसी व्यक्त गरेका छन।
प्रतिक्रिया दिनुहोस्