जनता टाइम्स

२ भाद्र २०७६, सोमबार ११:५४

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : पोष्टमार्टम रिपोर्टसँगै प्रहरीले फेला पार्यो नयाँ तथ्य


काठमाडौं, भदौं २ । झुन्डिएको अवस्थामा शव फेला परेका पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट चितवन प्रहरीमा पुगेको छ । ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ । चितवन प्रहरीले हिजो पोष्टमार्टमरिपोर्ट पाएको हो ।तर, प्रहरीले रिपोर्टमा के छ भन्ने खुलाएको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दावबहादुर मल्लले अनुसन्धानकै क्रममा रहेको र प्रमाण जुटाउँने काम भइरहेकोले जानकारी दिन नमिल्ने बताउनु भयो । उहाँले अहिलेसम्मको अनुसन्धानले थप नयाँ तथ्य पनि फेला परेको जानकारी दिनुभयो । एसपी मल्लका अनुसार अनुसन्धानपछि सबै तथ्य सार्वजनिक गरिनेछ । झुन्डिएको अवस्थामा साउन २० गते भेटिएका पत्रकार पुडासैनीको साउन २२ गते काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम भएको थियो । अस्पतालले १० दिन लगाएर रिपोर्ट तयार पारेको हो ।

प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भिडियोको फरेन्सिक ल्याब परीक्षणसमेत भइसकेको छ । पोस्टमार्टम र भिडियो ल्याब रिपोर्ट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरीको भनाइ छ । नुवाकोट बेलकोटगढी नगरपालिका–३ घर भएका २७ वर्षीय शालिकराम पुडासैनीको गत साउन २० गते राति नारायणगढस्थित पोखरा बसपार्कको होटेल कंगारुमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीले सो घटना अनुसन्धानको क्रममा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पुडासैनीले नाम किटान गरेपछि प्रहरीले आत्महत्या गर्न बाध्य पारेको हो वा होइन भन्ने बिषयमा अनुसन्धान गर्न लामिछानेसहित तीनै जनालाई पक्राउ गरेको हो ।

यसैबीच सो घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट एसपी दीपक रेग्मी नेतृत्वको पाँच सदस्यीय टोली चितवन पुगेको छ । पुडासैनीको मृत्युसँग जोडिएका विविध पक्षहरूमाथि सूक्ष्म ढंगले अनुसन्धान गर्न सिआइवी टोली पठाइएको हो ।