जनता टाइम्स

१४ फाल्गुन २०७९, आईतवार १७:४८

प्रधानमन्त्री प्रचण्डले गल्ती गरेको झलनाथको ठोकुवा, बाम एकतामै जोड


सुर्खेत, फागुन १४ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी दलको साटो कांग्रेसलाई राष्ट्रपति दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गल्ती गरेको बताउनु भएको छ ।

सुर्खेत विमानस्थल आज सञ्चारकर्मीसँग कुरा गर्दै खनालले यस्तो बताउनु भएको हो । खनालको यो भनाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित रहेको छ । दाहालले कम्युनिष्ट राष्ट्रपति बन्न नदिने योजनाको नाइके बनेर कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेको प्रसंगमा खनालले नाम नलिई यस्तो बताउनु भएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले वामपन्थी दलहरुकाबीचमै एकता हुनुपर्ने आफ्नो प्रष्ट बटमलाइन रहेको सुनाउनु भयो । ‘सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा भएमा मात्र परिवर्तन संभव छ, यो कुरा धेरैले बुझेनन,’ खनालले भन्नुभयो ।

उहाँले पार्टीका नीति, सिद्धान्त र लक्ष्य मिलेमा जुनसुकै दलसँग पनि एकीकरण गर्न तयार रहेको बताउनु भयो । उहाँले वामपन्थी दलहरुसँग मोर्चाबन्दी बनाएर जान आफ्नो पार्टी सधै खुला रहेको जानकारी पनि दिनुभयो ।

उहाँले मुख्य दलहरू शक्ति आर्जनका लागि र्याल काढेर हिँडेको भन्दै कांग्रेसलाई ब्यंग्य गर्नुभयो ।