जनता टाइम्स

२ भाद्र २०७६, सोमबार १९:३८

अघि बढ्यो पूर्वयुवराज पारशमाथि छानविन : आयुक्त कार्यालयले माग्यो बिमानस्थल प्रहरीसँग यथार्थ बिवरण


काठमाडौं भदौं, २ । पूर्वयुवराज पारश शाहले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षाकर्मीमाथि गरेको दुव्र्यवहारमाथि प्रहरीले छानबिन थालेको छ । पारसले आइतबार साँझ विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई सार्वजनिकस्थलमै हातपात गरेका थिए । सोही बिषयमा प्रहरीले छानविन अघि बढाएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीआईजी) शैलेश थापा क्षत्रीले घटनाबारे छानविन गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएपछि छानविन अघि बढाइएको हो । ‘विमानस्थल प्रहरीलाई घटनाबारे भएको के हो विवरण चाहियो भनेर भनेको छु । विमानस्थल प्रहरीले रिपोर्ट दिएपछि के गर्ने भन्ने निर्णय हुन्छ,’ डिआइजी क्षत्रीले भन्नुभयो ।

पूर्वयुवराज पारशले आफ्ना छोरा र भाञ्जामाथि प्रहरीले ‘अपमान’ गरेको भन्दै सई खत्रीलाई छातीमा समातेर धकलेको भिडियो सार्वजनिक भएपछि यो घटना बाहिर आएको थियो । भिडियोपछि समाचार आएलगत्तै प्रहरीले छानविन अघि बढाएको हो । भिडियोमा पूर्वयुवराज पारस फर्की–फर्की सई खत्रीमाथि झम्टिएको देखिएको छ । सामाजिक सञ्जालमा जनताको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथिको दुव्र्यवहार गर्ने पूर्वयुवराज पारसलाई कारबाही गर्न माग गरिएको छ ।

आमा कोमल शाह र छोराछोरीलाई थाइल्यान्ड जान लागेको समयमा बिदाई गर्न पारस विमानस्थल पुगेका थिए । पुर्व राजा ज्ञानेन्द्र शाह २ साताअघि मात्रै थाइल्याण्ड गएका थिए भने हिमानी शाह पनि थाइल्याण्डमै रहेकी छिन् । त्यही क्रममा उनले प्रहरीमाथि हातपात गरेका हुन ।