काठमाडौं, फागुन १७ । नेकपा एमालेका पूर्व उपाध्यक्ष बामदेव गौतम एमाले फर्कन तयार हुनुभएको छ । आफ्नै निवास भैसीपार्टीमा भेटन आउनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि गौतमले यस्तो बताउनु भएको हो ।
एमाले अध्यक्ष ओली आज नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष गौतमलाई भेटन उहाँकै निवास जानुभएको थियो । राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङलाई मत माग्दै जानुभएका एमाले अध्यक्ष ओलीले गौतमसँगको भेटमा एमालेमै फर्किन आग्रह गर्नुभएको थियो ।
जवाफमा गौतमले अध्यक्ष र महासचिवबाहेकका पदमा उमेर हद हटाए एमाले फर्कन तयार रहेको बताउनु भएको हो । ‘उहाँले मलाई तपाईंजतिको पार्टीको योगदान गरेको व्यक्ति अब बाहिर बसेर हुँदैन । पुरानै घरमा फर्किनुस भन्नेर आग्रह गर्नुभयो,’ भेटबारे गौतमले भन्नुभयो ।
ओलीले पार्टीमा फर्किन प्रस्ताव गरेपछि आफूले एमालेमा रहेको ७० बर्षे उमेरहद हटाउन सुझाएको उहाँको भनाई छ । ‘मैले उहाँलाई एमालेमा रहेको अहिलेको ७० बर्षे उमेरहद हटाउनुस भने। उमेरहद अध्यक्ष र महासचिवमा राख्नुस्। तर, अरुमा हटाउनुुस् भनेको छु । मेले प्रस्तावमा उहाँ सकारात्मक नै हुनुहुन्छ भन्ने बुझेको छु,’ गौतमको भनाई छ ।
भेटमा ओलीले अव एमाले फर्कै पनि आफू अध्यक्ष र महासचिव नहुने भन्दै यी दुईबाहेक अन्य पदको उमेर हद हटाउन भन्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्