मोरङ, फागुन १७ । प्रदेश १ को नाम कोशी कायम भएको छ । आज भएको मतदानमा प्रदेशसभाबाट दुई तिहाई बढी मतले कोशी कायम गर्ने प्रस्ताव पारित भएको हो ।
प्रदेससभाको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना प्रदेश सांसदले मतदान गरेको र ६ जना अनुपस्थित रहेका थिए ।
नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेश सांसद कमलप्रसाद जबेगुले संयुक्तरूपमा संशोधन प्रस्ताव दर्ता गराउनु भएको थियो । प्रदेशसभा बैठकमा राजेन्द्रकुमारले उक्त संशोधन प्रस्ताव टेबल गरेपछि बहुमत ध्वनी मतले अस्वीकृत भएको थियो ।
कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले जवाफ दिनुभएको थियो ।
प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् ।
जसमध्ये ८२ सांसदले पक्षमा मतदान गरेका हुन । अघिल्लो ५ बर्षे कार्यकालमा तीन जना मुख्यमन्त्री बन्दासमेत नामाकरण गर्न असफल प्रदेश १ मा एमाले नेता हिक्मत कार्कीले मुख्यमन्त्री बनेको छोटो समयमै नामाकरणम ासहमति जुटाई प्रदेशको नामाकरण गर्न सफल हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्