जनता टाइम्स

३ भाद्र २०७६, मंगलवार ०९:२२

शालिकराम आत्महत्या प्रकरण : रविसँग बयान जारी, भिडियोको आवाज पुडासैनीकै, झुन्डिएकै कारण मृत्यु


चितवन, भदौं ३ । पत्रकार शालिकराम पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पोस्टमार्टम रिपोर्टमा पुडासैनीले आत्महत्या गरेको उल्लेख रहेको संकेत देखिएको छ । ‘पोस्टमार्टम रिपोर्ट आएको छ । मंगलबार सम्पूर्ण रिपोर्ट लिएर म्याद थपका लागि अदालतमा पेस गर्छौँ । रिपोर्टमा हामीले पहिले जे आशंका गरेका थियौँ, त्यही नै भएको उल्लेख छ,’ जिप्रका चितवनका प्रमुख एसपी दानबहादुर मल्लले भन्नुभयो ।

यस्तै पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भएको छ । उनको मोबाइलमा विभिन्न पाँचवटा लामा र छोटा भिडियो क्लिप रहेको स्रोतले जनाएको छ । फरक–फरक भिडियो क्लिपमा भएकै कारणले पुडासैनीको आवाज फरक सुनिनुका साथै हाउभाउ पनि फरक देखिएको तथा एक अवस्थामा सिरानी रहेको र अर्को अवस्थामा सिरानी नरहेकोजस्तो फरक दृश्य देखिएको अनुसन्धानले देखाएको छ ।

पोस्टमार्टम र भिडियो ल्याब दुवै रिपोर्ट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरीको भनाइ छ । पत्रकार पुडासैनीको मृत्यु प्रकरणसँग जोडिएका प्रमाण संकलनका क्रममा चितवन प्रहरीले सोमबार उनले आत्महत्याका लागि डोरी किनेको पसल पत्ता लगाएको छ । नारायणगढ बसपार्कस्थित एक प्लास्टिक पसलमा गई उनले पाँच मिटर लामो डोरी किनेको सिसिक्यामेरा फुटेजसमेत प्रहरीले लिएको छ ।

पत्रकार पुडासैनी आत्महत्या घटनापछि पक्राउ परेको पत्रकार रविलामिछानेसहित तीनै जना आरोपीसँग बयान लिने क्रम जारी रहेको चितवन प्रहरीले जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अस्मिता कार्कीसँग र सोमबार सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलसँग बयान लिएको छ । तर, लामिछानेसँगको बयान भने अझै नसकिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

कँडेल र कार्कीले भने इन्कारी बयान दिएका छन । लामिछानेसँग आज पनि बयान लिइने भएको छ । आरोपीद्वय कँडेल र कार्कीको बयान सकिएपछि लामिछानेसँग सोमबार दिउँसो तीन बजेपछि बयान लिन सुरु गरिएको थियो । बयान बेलुकी ६ बजे स्थगित गरिएको थियो । प्रारम्भिक बयानका क्रममा मृतक पुडासैनीसँगको चिनजान, कामको सिलसिला, व्यवहारबारे लामिछानेसँग जानकारी लिइएको छ । बयान नसकिएकाले आज थप अनुसन्धानका लागि अदालतबाट पुनः म्याद थपिने सम्भावना छ ।