काठमाडौं, फागुन २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नकारात्मक सोच भएका र कुण्ठाग्रस्त समूहविरुद्ध एक्लै भने पनि विचार प्रवाह गरिरहनु पर्ने बताउनु भएको छ ।
एमालेनिकट बुद्धिजिवी परिषद्को केन्द्रीय समिति बैठकलाई आज सम्बोधन गर्दै तथा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
उहाँले विरोधी जमातले संगठित र सक्रिय ढंगले सामाजिक संजालबाट एकैपटक आक्रमण गर्न सक्ने भए पनि त्यसबाट आत्तिन नहुने बताउनु भयो ।
‘सयजना विरोधीले एकैपटक आक्रमण गरे भने नआत्तिनुस, तपाईंको विचारबाट उनीहरु तर्सिए, आत्तिए र एकैपटक आक्रमण गर्न संगठित ढंगले सक्रिय भएका हुन, अध्यक्ष ओलीले भन्नुभयो, नकारात्मक टिप्पणीको बाढी आउनु भनेको तपाईंका विचारसँग आत्तिएर उनीहरु खनिएका हुन । उनीहरुले तपाईंको विचारलाई इग्नोर गर्न सक्थे तर तपाईको प्रस्तुति यति प्रभावकारी छ कि उनीहरुले इग्नोर गर्न सक्दैनन र संगठित ढंगले हमला गर्छन ।’
अध्यक्ष ओलीले आजको सोसल मिडिया र आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरेर बौद्धिक जगतमा हाबी हुन बुद्धिजिवीहरुलाई आग्रह पनि गर्नुभयो । थोरै भए पनि सकारात्मक कमेन्ट आए भने पनि ठिक हुने भन्दै एमालेनिकट बुद्धिजिवीहरु संगठित ढंगले प्रतिवादमा नउत्रिएका कारण संजाल र मिडियामा नकारात्मक विचार राख्ने समूह हाबी भएको अनुभव पनि सुनाउनु भयो ।
‘पढ्ने कुराबाट ज्ञान आर्जन हुन्छ, लेख्ने कुराबाट ज्ञान व्यवस्थित हुन्छ । त्यसैले तपाईहरु लेख्न थाल्नुस् । तपाई हाम्रा विचारबाट उनीहरु आत्तिनुपर्छ । हाम्रा विचारबाट उनीहरुले खतरा महशुस गर्नुपर्छ । विपक्षीलाई खतरा महसुस हुनु,उल्टो विचार र बुद्धि भएकालाई खतरा पैदा हुनु स्वभाविक हो । उनीहरुले हाम्राविरुद्ध जति नकारात्मक कमेन्ट गर्छन् त्यो भनेको उनीहरुलाई खतरा भएर गरेका हुन् । हामीले त्यो खतरालाई सक्रियतापूर्वक बृद्धि गरिदिनुपर्छ । माओवादी युद्धकालमा पनि शालिक ढले,शास्त्र जले तर विचार ढलेन । हामी त्यस्तै विचार बोक्ने शक्ति हौं,’ ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले एमालेनिकट बुद्धिजिवीहरुलाई तयारीका साथ संगठित भएर गलत विचारविरुद्ध सही विचार प्रवाह थाल्न आग्रह गर्दै त्यसो गर्दा नकारात्मक कमेन्ट आए भने आफू सही ठाउँमा छौं भन्ने बुझ्नुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्