जनता टाइम्स

२१ फाल्गुन २०७९, आईतवार १७:१३

कर्णालीका मुख्यमन्त्री शर्मा सम्पति विवरण सार्वजनिक : ५ लाख नगद र २ तोला सुन


सुर्खेत, २१ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा मुख्यमन्त्रीको सम्पत्ति विवरण राखिएको छ । मुख्यमन्त्री शर्माले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो ।

मुख्यमन्त्री शर्माको अचल सम्पत्तिमा श्रीमती प्रतिभा केसीको नाममा दाङको लमही नगरपालिका–१ मा ३५७२.९१ वर्गमिटर जग्गा रहेको उल्लेख छ ।

सो जग्गा पैतृक सम्पत्तिबाट आर्जन गरिएको उल्लेख छ । यस्तै रुकुमको चौरजहारी नगरपालिका १४ मा बाबु चन्द्रप्रकाश शर्माको नाममा अन्दाजी ४ देखि ५ रोपनी र रुकुमपश्चिमकै वडा नम्बर २ मा २१२० वर्गमिटर आफ्नो नाममा रहेको उल्लेख गरेका छन् ।

यसको स्रोत पैतृक, कृषि आय र सेवा सुविधाबाट प्राप्त भएको उल्लेख छ । यस्तै मुख्यमन्त्री शर्माले सेवा सुविधाबाट प्राप्त नेपाल बैंक लिमिटेडमा ५ लाख नगद र अन्दाजी दुई तोला सुन माइतीबाट प्राप्त भएको उल्लेख गरेका छन् ।

यस्तै लमही नगरपालिका १ दाङमा कृषि तथा पशुधनमा अन्दाजी ३ लाख लागतमा ६०० बोट ड्रागन फल खेती गरिरहेको र उक्त खेतीबाट वार्षिक १५ देखि १६ लाखसम्म आम्दानी हुने मुख्यमन्त्री शर्माको सम्पत्ति विवरणमा उल्लेख छ । तर, अन्य मन्त्रीको सम्पत्ति विवरण हालसम्प पनि सार्वजनिक भएको छैन ।