काठमाडौं, फागुन २४ । नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनता र देशको सामथ्र्यलाई कमजोर बनाउएर सामाजिक उत्पीडन र विकृतिहरु बढाउने प्रवृत्तिमाथि विजय प्राप्त गर्नु आवश्यकता रहेको बताउनु भएको छ । महिला अधिकार स्थापित गर्ने संघर्षको दिनका रुपमाआज ८ मार्चको अवसरमा शुभकामना दिँदै एमाले अध्यक्ष ओलीले यस्तो धारणा राख्नुभएको हो ।
‘अस्थिरताको अनुचित लाभ लिएर राष्ट्रिय स्वाधीनता र देशको सामथ्र्यलाई कमजोर बनाउने, अर्धतन्त्रलाई धरासायी बनाउने, विकास निर्माण ठप्प पार्ने र सामथ्र्यहीन राज्यको अवसर छोपेर सामाजिक उत्पीडन र विकृतिहरु बढाउने प्रवृत्तिमाथि हामीले विजय प्राप्त गर्नु आवश्यकता छ । न्यायप्रेमी जनसमुदायको साथ लिएर हामी यसलाई अझै अगाडि बढाउन चाहन्छौं । नेकपा एमालेको यस अभियानलाई सफल बनाउन रचनात्मक ढंगले सक्रिय हुन सम्पूर्ण तह र क्षेत्रका दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक अपिल गर्दछु,’ अध्यक्ष ओलीले भन्नुभएको छ ।
यस्तै अध्यक्ष ओलीले कानुनले महिला र पुरुषलाई बरावर भनेपनि ब्यवहहारमा कार्यान्वयन हुन नसकेको बताउनु भएको छ ।
उहाँले भन्नुभएको छ , यस्तो जागरुकताको अभावका कारण महिला र पुरुष बराबरी भनिए पनि समाजमा भेदभाव र असमानताहरु कायमै छन् । महिलामाथि यौन हिंसाजस्ता जघन्य अपराधका घटना हामी दिनदिनै सुन्न र भोग्न बाध्य छौँ । अज्ञानता र कुरीतिको आड लिएर हुने खराव अभ्यासका कारण वोक्सी, छाउपडी, दाइजो, बालविवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै छन् । यसले महिलामाथि दुर्व्यवहार र हिंसालाई दुरुत्साहन गरिरहेको छ । यसखाले अपराधलाई निरुत्साहन गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रुपमा जनचेतना जगाउनु आवश्यक छ । यस्ता विभिन्न प्रकार र स्वरुपका लैङ्गिक विभेद तथा हिंसाका घटनाहरुलाई जरैदेखि निर्मूल गर्न अपराधीलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्ति समेतको कानुनी व्यवस्था तथा समाजमा नैतिक जागरण र सचेतना अभियान चलाउनु आवश्यक छ ।
शुभकामनाको पूर्णपाठ
महिला अधिकार स्थापित गर्ने संघर्षको दिनका रुपमा आज ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउने गरिएको छ । संसारभरका महिलाहरुलाई समानताको हक अधिकार स्थापित गर्ने यस प्रेरणादायी दिवसका अवसरमा म सम्पूर्ण दिदीबहिनीहरुमा सुस्वास्थ्य, सुख र समृद्धि एवं सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुशरणीय रहँदै आएको छ । ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको छ । देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरुको समान सहभागिता अत्यन्त जरुरी छ ।
विगतमा हाम्रो पार्टी नेकपा (एमाले)को सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको प्रतिफलस्वरुप नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको थियो । नेपालको संविधानमा महिलाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको छ । संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व संविधानद्वारा नै सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल पर्न सफल भएको छ ।
आज स्थानीय तहमा हजारौं महिलाहरुको प्रतिनिधित्वले राजनीति र विकासमा महिलाको योगदान बढेको छ । लैङ्गिक समानता र महिला विकासका लागि राज्यको तर्फवाट भएका नीतिगत, कानुनी, संरचनागत एवम् प्रक्रियागत सुधारको फलस्वरुप राजनीति र प्रशासनको क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व उल्लेखनीय रुपमा वृद्धि भएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सूचकहरुमा पनि सकारात्मक सुधार भएका छन् ।
यद्यपि समाजको न्यून चेतनाका कारण समाजमा महिला हिंसा र उत्पीडनका अवशेषहरु कायम छन् । कानुनी प्रबन्ध र राज्यको प्रयासले मात्र यस्ता उत्पीडनहरुलाई निमिट्यान्न पार्न सकिँदैन । त्यसका लागि सामाजिक जागरुकता आवश्यकता पर्दछ । यस्तो जागरुकताको अभावका कारण महिला र पुरुष बराबरी भनिए पनि समाजमा भेदभाव र असमानताहरु कायमै छन् । महिलामाथि यौन हिंसाजस्ता जघन्य अपराधका घटना हामी दिनदिनै सुन्न र भोग्न बाध्य छौँ । अज्ञानता र कुरीतिको आड लिएर हुने खराव अभ्यासका कारण वोक्सी, छाउपडी, दाइजो, बालविवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै छन् ।
यसले महिलामाथि दुर्व्यवहार र हिंसालाई दुरुत्साहन गरिरहेको छ । यसखाले अपराधलाई निरुत्साहन गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रुपमा जनचेतना जगाउनु आवश्यक छ । यस्ता विभिन्न प्रकार र स्वरुपका लैङ्गिक विभेद तथा हिंसाका घटनाहरुलाई जरैदेखि निर्मूल गर्न अपराधीलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्ति समेतको कानुनी व्यवस्था तथा समाजमा नैतिक जागरण र सचेतना अभियान चलाउनु आवश्यक छ ।
नेकपा (एमाले) मुलुकमा सुशासन, विकास र सामाजिक न्यायको अगुवा पार्टी हो । हाम्रै सरकारले महिला र किशोरीमाथि हुने बलात्कार र हिंसाको नियन्त्रण र कारवाहीसम्वन्धी कानुनी व्यवस्थालाई थप कडा बनाउँदै तेजावजन्य पदार्थको आक्रमण गर्नेलाई सजाय वृद्धि तथा पीडितलाई उचित क्षतिपूर्ति र रोजगारीको व्यवस्था हुनेगरी कानूनलाई सुदृढ बनाएको थियो । समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो गन्तव्यमा सामाजिक न्याय महत्वपूर्ण आयाम हो । राजनीतिक अस्थिरता मार्फत मुलुकलाई दिशाहीन बनाउने र राष्ट्रको समृद्धि र जनताको सुखका लागि नेकपा (एमाले)ले अघि बढाएको अभियान कमजोर बनाउने दुश्प्रयास अहिले पनि जारी छ ।
अस्थिरताको अनुचित लाभ लिएर राष्ट्रिय स्वाधीनता र देशको सामथ्र्यलाई कमजोर बनाउने, अर्धतन्त्रलाई धरासायी बनाउने, विकास निर्माण ठप्प पार्ने र सामथ्र्यहीन राज्यको अवसर छोपेर सामाजिक उत्पीडन र विकृतिहरु बढाउने प्रवृत्तिमाथि हामीले विजय प्राप्त गर्नु आवश्यकता छ । न्यायप्रेमी जनसमुदायको साथ लिएर हामी यसलाई अझै अगाडि बढाउन चाहन्छौं । नेकपा (एमाले)को यस अभियानलाई सफल बनाउन रचनात्मक ढंगले सक्रिय हुन सम्पूर्ण तह र क्षेत्रका दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक अपिल गर्दछु ।
महिला दिदीबहिनीहरुलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा मुलतः शिक्षामा जोड दिँदै महिलाको सशक्तीकरण गर्ने अभियानमा सबै एक भएर लाग्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक आह्वान गर्दछु । र, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
प्रतिक्रिया दिनुहोस्