जनता टाइम्स

२६ फाल्गुन २०७९, शुक्रबार १२:४४

६९ वर्षको उमेरमा नागरिकता


लमजुङ २६ फागुन । लमजुङको दोर्दी गाउँपालिका ५ उपल्लो पाचोकका वृद्ध धनमान घलेले ६९ वर्षको उमेरमा नेपाली नागरिकता प्रमाणपत्र पाउनुभएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङबाट अशक्त अवस्थाका वृद्ध घलेलाई बुधबार उहाँकै घरमा पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले घलेलाई घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको हो । वृद्धावस्थामा नागरिकता पाएपछि खुशी हुँदै घलेले धन्यवाद दिनुभयो । वृद्धावस्थामा समेत नागरिकता नलिएको जानकारी आएपछि अशक्त अवस्थाका सेवाग्राहीलाई घरमै पुगेर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी पुरीले बताउनुभयो ।

अप्ठ्यारोमा परेका नागरिकको घरदैलोमा पुगेरै सेवा दिनु कर्मचारीको दायित्व रहेको र सो दायित्व पूरा गरेको उहाँको भनाइ छ । नागरिकता नहुँदा वृद्धाभत्ता लिन, भूकम्पले बनाएको घर बनाउन र जग्गा जमिनको नामसारी लगायतका सरकारी कामकाजमा समस्या परेको गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेले बताउनुभयो । नागरिकता पाएसँगै ति सबै कामकाजको लागि सहज हुने उहाँको भनाई छ ।