काठमाडौं, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै दलका अध्यक्षहरुसँग सामूहिक भेटवार्ता गर्नुभएको छ । आफ्नो ५ वर्षको कार्यकाल पूरा गर्नुभएकी राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका नेतृत्वहरुसँग सामूहिक भेटवार्ता गर्नुभएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सहित सबै दलका प्रमुखहरुलाई राष्ट्रपति भण्डारीले शीतल निवास बोलाउनुभएको थियो । भेटमा भण्डारीले आफ्नो दोस्रो कार्यकाल सफल बनाउन सहकार्य र सहयोग गरेकोमा दलहरुलाई धन्यवाद दिनुभएको थियो ।
भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको कार्याकाल समग्रमा सफल भएको बताउनुभयो । ‘केही विषयमा हाम्रा असन्तुष्टिहरु पक्कै थिए तर यहाँको कार्यक्रम समग्रमा सफल भएकोमा बधाइ दिन चाहन्छु’, प्रधानमन्त्रीलाई उदृत गर्दै सितल निवास स्रोतले बतायो ।
भेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रय स्वतन्त्र पार्टीका रवि लामिछाने, राप्रपाका राजेन्द्र लिङ्देन, जसपाका उपेन्द्र यादव, नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ, लोसपाका महन्थ ठाकुर उपस्थित हुनुहुन्थ्यो । उहाहरुवीच चियापानसहित करिब २ घण्टाको भेट भएको थियो।
प्रतिक्रिया दिनुहोस्