काठमाडौं, ३० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले रासायनिक मल खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाउने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको छ । लिङ्देनले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउन हठात् गरिएको निर्णयलाई गलत भन्नुभएको हो । अध्यक्ष लिङ्देनले सुलभरुपमा मल आपूर्ति व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापना प्रक्रिया प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको सोमबारको बैठकले अनुदान घटाउने निर्णय गरेको थियो ।
कृषि मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर दिइएको अनुदान अब ५९ दशमलव ०४ प्रतिशत कायम गरिएको जनाएको थियो।
अब त्यो दरलाई क्रमशः ५० प्रतिशतमा झारिने मन्त्रालयले उल्लेख गरेको थियो । ‘किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउन हठात् गरिएको निर्णय अनुचित छ,’ उहाँले भन्नुभयो,‘यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले मल आपूर्ति व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण गराउँदछु।’













प्रतिक्रिया दिनुहोस्