जनता टाइम्स

३० फाल्गुन २०७९, मंगलवार १८:१७

नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिन सभामुख घिमिरे दूतावासमा


काठमाडौं, ३० फागुन । अन्तर व्यवस्थापिका संघ (आईपीयु)को १४६ औं महासभामा भाग लिन बहराइन पुगेका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिनुभएको छ । मनामास्थित नेपाली दूतावासमा आज बिहान पुग्नुभएको सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिनुभयो ।

अधिकारीहरुले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको जानकारी दिनुभएको थियो ।

भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरुले काठमाडौंमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणा समेत राख्नुभएको थियो । सभामुख घिमिरेले बहराइन भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धि लगायतका विषयमा आफ्ना समकक्षीसँग कुरा राख्नुभएको थियो ।