काठमाडौं, चैत ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशकोबिरुद्ध अभियान चलाउँदा पनि सरकार कानमा तेल हालेर बसेको ठोकुवा गर्नुभएको छ । काठमाडौंमा आजबाट सुरु भएको नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं महाधिवेशनको उदघाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
‘देशकाविरुद्ध क्याम्पेन हुँदा पनि सरकार कानमा तेल हालेर बसेको छ । जनताले लडेर बनाएको देश हो । लडेर बचाएको देश हो यो । यो देशको हावामा सास फेरेर । यस देशको पानी र अन्न खाएर यस देशमा जन्मिएको हुँ भन्ने एउटा मान्छे यो देश अर्कालाई जिम्मा लगाइदिऊँ कसरी भन्न सक्छ ? यो क्याम्पेन कसरी लिएर हिँड्न सकेको ? यस्तो हुँदा पनि सरकार कानमा तेल हालेर कसरी बसेको छ ?’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीको यो भनाई केही समय अघि मात्रै निश्काशनमा परेका नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य दुर्गा प्रसाईंप्रति लक्षित रहेको छ । प्रसाईले सार्वजनिक रुपमै भारतलाई बुझाइ दिऔं भन्ने अभिब्यक्ति दिनुभएको थियो ।
‘अहिले त देशको बेहाल छ, अचम्म लाग्छ सरकारको नोटिसमा छ कि छैन ? सरकारले गराएको हो कि होइन ? एउटा, दुई हुँदै एक हुल मान्छे कुद्छ । के मान्छेलाई थपडी बजाउन पठाइन्छ । यो देश सार्वभौम सत्ता स्वतन्त्र राष्ट्र राख्नभन्दा विदेशीलाई बुझाइदियो भने साग सस्तो पाइन्छ । साइकल सस्तो पाइन्छ । कि यो देश राख्ने भन्छ । सरकार सुन्छ कि सुन्दैन,’ ओलीको भनाई थियो ।
उहाँले सो गतिबिधिलाई देशद्रोहीको संज्ञा दिनुभयो । ‘यो देशको सन्तान भन्न पनि नसुहाउने देशद्रोही कुरा गरेर मान्छे हिँडिरहेको छ । सरकारले लगाएको कि लगाउन लगाएको ? सरकार सुन्छ कि सुन्दैन ?’ ओलीले भन्नुभयो, ‘यही अभियानको जनताले प्रतिवाद गर्न नपरोस । शान्ति सुव्यवस्था काम राख्न सरकारले ध्यान देओस । होइन भने राष्ट्रियताको विरुद्ध भएको कामको जनताले प्रतिवाद गर्छ ।’
प्रतिक्रिया दिनुहोस्