जनता टाइम्स

४ चैत्र २०७९, शनिबार १५:०४

गोकर्ण बिष्टको ठोकुवा : बर्तमान सत्ता गठबन्धनको मुहान अन्तै छ


हेटौंडा, चैत ४ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले वर्तमान गठबन्धन सत्ता स्वार्थको लागि निर्माण भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल मकवानपुरले शनिबार हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विष्टले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन, राष्ट्रिय स्वाभिमानलाई कमजोर गर्नको लागि गठबन्धन निर्माण भएको बताउनुभयो ।

‘यसका पछाडि विभिन्न शक्ति केन्द्रहरू छन्, यो राष्ट्रिय हिसाबले, मौलिक हिसाबले स्थापना भएको गठबन्धन होइन, यो गठबन्धनले पिउने पानी अन्तै छ, यसको मुहान अन्तै छ’, उहाँले भन्नुभयो ।

अराजकता, कुशासन र राजनीतिक अस्थिरता निम्त्याउने गठबन्धन जनताको चाहना र राष्ट्रको आवश्यकता नभएको उहाँले प्रष्ट पार्नुभयो । एमालेको समर्थनमा प्रधानमन्त्री हुनुभएका प्रचण्डले दुई महिनामा नै सहमति तोडेर राजनीति बेइमानी गरेको उहाँले बताउनुभयो ।

प्रचण्डमा पद प्राप्ति र त्यसलाई जोगाउन देखा परेको अवसरवाद नेपालको राजनीतिमा कालो बादलको रूपमा देखा परेको उहाँले बताउनुभयो । यो बादल पन्छाउने गरी नेपालको राजनीति अघि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो । यो आवश्यकतालाई भविष्यका दिनले थप प्रभाकारी बनाउने उहाँले बताउनुभयो ।

अहिलेको समीकरणको आयु धेरै लामो नहुने उहाँले दाबी गर्नुभयो । नेकपा एमालेसँग अतालिएर सबै शक्ति एक हुने प्रवृत्ति अस्थायी भएको उहाँले बताउनुभयो । निकट भविष्यमा नयाँ सन्दर्भ र परिस्थिति जन्मिने उहाँको भनाइ छ ।

अहिलेको गठबन्धन नीति, सिद्धान्त, विचार, कुनै आधार बिना नै बनेको उहाँले बताउनुभयो । नेकपा एमालेलाई कमजोर बनाउन कसैले अराएर बनेको गठबन्धन लामो समय जाने सम्भावना नदेखिएको उहाँले प्रष्ट पार्नुभयो । यो गठबन्धन टिक्नु पर्ने र टिक्ने कुनै आधार नभएको विष्टले बताउनुभयो ।