जनता टाइम्स

५ चैत्र २०७९, आईतवार २०:१३

प्रदेशको नाम परिवर्तन हुँदैन : मुख्यमन्त्री कार्की


ओखलढुङ्गा, चैत ५ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताउनुभएको छ । नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुङ्गा आउनुभएका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आज आयोजित कार्यक्रममा कोशी नाम सर्वस्वीकार्य नाम भएकाले तत्काल प्रदेशको नाम परिवर्तन नहुने बताउनुभयो ।

लामो समय नामविहीन प्रदेशमा आफू मुख्यमन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले कोशी नाम पारित गरेको बताउँदै उहाँले तत्काल नाम संशोधनका विषयमा छलफलसमेत नहुने बताउनुभयो । नामको विषय छाडेर प्रदेशको समृद्धिमा लाग्न उहाँले आग्रह गर्नुभयो ।

“कोशी सबैको सभ्यता र पहिचानसँग मात्रै होइन मानव जीवनसँग पनि जोडिएको नाम हो । ९० प्रतिशतभन्दा बढी सांसदले पारित गरिसकेको यो नाम अब परिवर्तन त होइन नामका विषयमा छलफलसमेत हुँदैन”, उहाँले भन्नुभयो, “हिजो नाम भएन भन्नेहरु आज नाम मन परेन भनेर आन्दोलन गर्दैछन्, यस्तो बाटोमा हिँडेर गन्तव्यमा पुगिन्न । बरु प्रदेश कसरी समृद्ध बन्छ त्यो सुझाव दिनुस् ।” देशमा राजनीतिक स्थायित्व नहुँदा नेपालीहरुले दुःख पाएको बताउँदै उहाँले अब राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा लाग्नुपर्ने बताउनुभयो ।

पूर्वमन्त्री अम्बिरबाबु गुरुङले ओखलढुङ्गामा गरेको विकास निर्माणको कामलाई प्रशंसा गर्दै मुख्यमन्त्री कार्कीले पुराना आयोजनालाई सम्पन्न गरिने र नयाँ योजनालाई उत्पादनसँग जोडिने बताउनुभयो । कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र युवा स्वरोजगारका कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकता दिने मुख्यमन्त्री कार्कीको भनाइ थियो ।

कार्यक्रममा प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले नागरिकका आधारभूत आवश्यकता तत्काल पूरा गरिने बताउनुभयो । स–साना योजना र थोरै बजेटबाट नागरिकका धेरै अपेक्षा पूरा गर्न सकिने बताउँदै उहाँले किसानको खेतबारी बाँझो नरहने गरी कृषि उद्यमका कार्यक्रम ल्याउन कर्मचारीलाई निर्देशन दिनुभयो ।

सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा, भगवती मन्दिर रुम्जाटार पार्कको उद्घाटन, रुम्जाटार बौद्ध गुम्बा लामा क्वाटर भवन, सिँचाइ आयोजनाहरूको स्वामित्व हस्तान्तरण, सहरी विकास तथा भवन कार्यालय भवन र मनमोहन तालिम केन्द्रको भवन शिलान्यास, ठाडे–जन्तरखानी सडक खण्ड र सामुदायिक भवन तलुवाको भवन उद्घाटन गर्न मुख्यमन्त्री ओखलढुङ्गा आउनुभएको हो ।