काठमाडौं, चैत ७ । नेकपा एमालेनिकट बिद्यार्थी संगठन अनेरास्ववियुले स्थगित भएका कलेजमा तत्काल स्ववियु निर्वाचन गराउन माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले आज बिज्ञप्ती जारी गर्दै स्थगित भएका कलेजहरुमा तत्काल निर्वाचन गराउनु माग गर्नुभएको हो ।
बडालले विभिन्न बहनामा निर्वाचन अवरुद्ध भएका क्याम्पसहरूमा तत्काल स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा तत्काल चुनाव गराउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भएको हो ।
‘नेपाली विद्यार्थी आन्दोलनको दौरान हाम्रा अग्रजहरूको बलिदानीपूर्ण संघर्षबाट स्थापित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनेकौं षडयन्त्रका बीच लामो समयदेखि हुन सकिरहेको थिएन । यही चैत ४ गते त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका आंगिक, सामुदायिक तथा निजी गरी करिब ३०० कलेजमा सम्पन्न भएर मत परिणामहरू आइरहेका छन,’ जारी विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष बडालले चैत ५ गते सम्पन्न भएको स्ववियु निर्वाचनले गठबन्धनबिरुद्ध स्पष्ट जनादेश आएको भन्दै परिणामले आफूहरूलाई उत्साहित बनाएको पनि उल्लेख गर्नुभएको छ ।
‘विभिन्न गठबन्धनहरूलाई चिर्दै अनेरास्ववियुको पक्षमा देशव्यापी जुन परिणाम आएको छ, यसले हामीलाई थप शक्ति र हौसला प्रदान गरेको छ । नेपाली विद्यार्थी आन्दोलनलाई ऊर्जा थपेको छ, बिज्ञप्तिमा भनिएको छ, गठबन्धन मुलुकको अस्थिरता र विकासको बाधक हो भन्ने सन्देश आजको स्ववियु निर्वाचनको परिणामले देखाएको छ ।’
प्रतिक्रिया दिनुहोस्