जनता टाइम्स

८ चैत्र २०७९, बुधबार १४:५७

राष्ट्रियसभामा प्रश्न : प्रहरीले नागरिकको मुख थुन्न मिल्छ ?


काठमाडौं, ८ चैत्र । राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले प्रहरीले बोल्नेको मुख थुनेको विषयमा सरकारको जवाफ माग्नुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा उनले मंगलबार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीले केही युवाको मुख थुनेको तस्वीरबारे चासो ब्यक्त गर्नुभएको हो ।

‘हिजोदेखि सञ्चारजगत र सामाजिक सञ्जालमा, केही युवाहरुले बोल्न खोजिरहेको र केही प्रहरीले जबर्जस्ती मुख थुनेको, घाँटी न्याकिरहेको, लछारपछार पारिरहेको तस्वीरहरु जताततै देख्न पाइएको छ, यो किन भएको हो, ती युवाले के बोल्न खोजिरहेका थिए र प्रहरीले ज्यादती गरेको हो ?’ पौड्यालले प्रश्न गर्नुभयो । संविधानले नागरिकलाई स्वतन्त्रतापूर्वक विचार राख्न पाउने र बोल्न पाउने अधिकार दिएको भन्दै उहाँले प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न समेत गर्नुभयो ।

उहाँले अगाडि सोध्नुभयो , ‘गृह मन्त्रालयले यसो गर्ने प्रहरीलाई कारबाही गरेको छ कि छैन ?’ राष्ट्रियसभा सदस्य पौड्यालले यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुका साथै सरकारको जवाफ पनि माग गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा नाराबाजी गरेको आरोपमा केही युवालाई पक्राउ गरेको थियो । त्यस क्रममा नाराबाजी गर्ने युवाको मुख प्रहरीले थुनेका थिए ।