जनता टाइम्स

८ चैत्र २०७९, बुधबार १६:५५

भारतको त्यो तरबार देखेपछि प्रचण्डजीहरू जसोजसो बाहुनबाजे उसैउसै स्वाहा गर्छन : पृथ्वीसुब्बा गुरुङ


गोरखा, चैत ८ । एमाले उपमहासचिव एवं केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख पृथ्बीसुब्बा गुरुङले केन्द्रीय सत्ता गठबन्धनको प्रभावले प्रदेश सरकार डगमगाउन नहुने बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव गुरुङले केन्द्रको प्रभाव प्रदेशमा पर्नु संघीयताको भावना विपरित हुने बताउनु भयो ।

‘भारतमा केन्द्र सरकार जे भए पनि प्रदेश सरकारलाई प्रभाव पर्दैन। तर हाम्रो देशमा केन्द्र सरकार जुन पार्टीको गठबन्धनबाट सरकार बनेको छ, प्रदेशमा पनि त्यसकै प्रभाव पर्छ। माथिको समीकरण परिवर्तन हुनेबित्तिकै तल गन्ड्याङगुन्डुङ भइहाल्छ,’ गुरुङले भन्नुभयो, ‘यो गलत सिस्टम हो। केन्द्र सरकारको प्रत्यक्ष प्रभाव पर्ने भए संघीयताको के अर्थ ? स्थिरता कायम गर्ने हो भने केन्द्र सरकारमा जुन गठबन्धन भए पनि प्रदेशलाई आफ्नै अनुकूलको समीकरण गर्न छाडिदिनुपर्छ।’

उहाँले यो अभ्यास स्थिरताका लागि, पालिकाका लागि, प्रदेशका लागि, संघीयताको मर्म र भावनाका लागि पनि उपयुक्त नभएको बताउनु भयो । केन्द्रको प्रभाव प्रदेशमा नपार्ने अभ्यास गर्न कसैको आँट नभएको पनि उहाँको जिकिर छ ।

नेपालको राजनीतिमा चीनको प्रभाव नपर्ने, भारतको मात्र प्रभाव पर्ने उहाँको भनाई थियो । ‘पुस १० को गठबन्धनले दक्षिणतिरको शक्ति चकित परेको र त्यो गठबन्धन रहेसम्म इण्डोप्यासफिक रणनीति पनि सफल नहुने भएकोले खेल खेलिएको उहाँको भनाई छ । ‘नेपालको राष्ट्रिय हितमा काम गर्ने सरकार आयो भने हाम्रो प्रभाव फितलो हुन्छ भनेर जसरी पनि यो तोड्न लागि परे। हामीले बिना आधारको आरोप लगाएको होइन। हरेक घटनाले यसलाई प्रमाणित गरिरहेको छ,’ गुरुङले भन्नुभयो ।

शान्ति प्रक्रियाको कुरा झिकेर सधैं माओवादीलाई कमजोर बनाउने र त्यसबाट फाइदा उठाउने काम भारतले गरिरहेको तथ्य पनि गुरुङले गर्नुभयो ।

‘अरु केही जोर चलेन भने आइसीसीको कार्ड फाल्छन्। आइसीसीको तरबार चलाउँछन्। आइसीसीको तरबार देखेपछि माओवादीहरू त्यसैत्यसै आतंकित हुन्छन्। माओवादीको त्यो कमजोरी थाहा पाएपछि भारतले आइसीसीको कार्ड फाल्छन् अनि प्रचण्डजीहरू जसोजसो बाहुनबाजे उसैउसै स्वाहा गर्छन,’ गण्डकीका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका एमाले उपमहासचिव गुरु«ले भन्नुभयो ।

उपमहासचिव गुरुङले प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्ड भूराजनीतिक शक्तिहरुको दवाव र प्रभावमा परेको तथ्य पनि खोल्नुभयो । उहाँले नेपालका भूराजनीतिक शक्तिहरुको प्रभाव, चलखेल, जालझेल र षड्यन्त्र शुरु भएको बताउनुभएको हो ।

‘नेकपा एमाले, नेकपा माओवादी केन्द्र सहितका दलले सहमति गरेर मुुलुकको स्थिरताका लागि र स्वाधनिताको रक्षाका लागि गठवन्धन बनाइएको थियो’ गुरुङले भन्नुभयो, ‘प्रधानमन्त्री प्रचण्ड अदृश्य भूराजनीतिक शक्तिहरुको षड्यन्त्रको खलनायकका रुपमा देखा पर्नुभएको छ ।’ पुष १० गते ७ दलबिच भएको सहमतिबाट प्रचण्ड पछि हट्नाले नेपालको राजनीति अस्थिरतातर्फ गएको गुरुङको भनाई छ ।

नेपालमा स्थिरता चाहनेहरुका लागि वामपन्थी गठवन्धन टुट्ने कुरा दुखदायी भएको पनि उहाँले बताउनुभयो । ‘नेपाली काँग्रेस प्रतिपक्षमा बस्न तयार भैसकेको अवस्थामा काँग्रेससँग भोट माग्न जानुनै षड्यन्त्रको शुरुवात हो, १ शय ६९ साँसदको समर्थन पाइसकेको अवस्थामा आवश्यक नपर्ने मत किन माग्न गएको ?’ एमाले उपमहासचिव गुरुङले प्रश्न गर्नुभयो ।

एमसिसिलाई कार्यान्वयन गर्ने, एसपिपि कार्यान्वयनमा ल्याउने र यसअघिका राष्ट्रपतिले रोकिराखेको नागरिकता विधेयकलाई छिटो भन्दा छिटो पास गराउने उदेश्यले मात्रै अहिलेको गठवन्धन बनेको उहाँले बताउनु भयो । ‘पुष १० गते हामीले देशभित्रै नेपालीहरुलेनै डिजाइन गरेको गठवन्धन बनाएका थियौं तर अहिले चाहिँ अरुले कतैबाट डिजाइन गरिएको गठवन्धन बनेको छ’ उहाँले भन्नुभयो ।

नेपालको राजनीतिमा चीनको प्रभाव नपर्ने, भारतको मात्र प्रभाव पर्ने पनि गुरुङको भनाई छ । ‘पुष १० को गठबन्धनले दक्षिणतिरको शक्ति चकित पर्यो र यो गठबन्धन रहेसम्म इण्डोप्साफिक रणनीति पनि सफल हुदैन, आइपिएस पनि अघि बढ्दैन, नेपालको राष्ट्रिय हितमा काम गर्ने सरकार आयो भने हाम्रो प्रभाव फितलो हुन्छ भनेर जसरी पनि यो तोड्न लागि परे’, उहाँले भन्नुभयो, ‘हामीले बिनाआधारको आरोप लगाएको होइन । हरेक घटनाले यसलाई प्रमाणित गरिरहेको छ ।’