जनता टाइम्स

८ चैत्र २०७९, बुधबार २०:०१

आफूबिरुद्ध बोल्नै नदिने योजनामा प्रधानमन्त्री दाहाल, नारावाजी गर्ने तीनै जनालाई चलाइयो मुद्दा


काठमाडौं, चैत ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी कार्यक्रममा नारावाजी गर्ने तीन जनाविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान सुरु गरेको छ । मंगलवार पक्राउपरेको तीनै जनालाई प्रहरीले आज जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारमा अनुसन्धान गर्नका लागि ५ दिन अनुमति लिएको छ ।

महानगरिए प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरुमाथि अभद्र ब्यवहारमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद दिएको छ र अभद्र व्यवहार प्रदर्शनको विषयमा अनुसन्धान सुरु भएको छ ।

मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा दलित संघर्ष तथा अधिकारका सन्दर्भमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालविरुद्ध केही युवाहरूले नारावाजी गरेका थिए । नारावाजी गर्ने तीन युवाहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

नारावाजी गरिरहेका युवाको मुख थुन्दै प्रहरीले पक्राउ गरेको घटनालाई लिएर सामाजिक सञ्जालमा प्रधानमन्त्री साथै प्रहरीको आलोचना पनि भइरहेको छ ।

आलोचना भएपनि प्रधानमन्त्रीबिरुद्ध नारावाजी गर्न वा बोल्न बन्देज लगाउने योजनासहित उनीहरुबिरुद्ध मुद्दा चलाइएको हो । प्रधानमन्त्रीबिरुद्ध आगामी दिनमा पनि नारावाजी हुनसक्ने भन्दै प्रधानमन्त्री सचिवालयकै निर्देशनमा मुद्दा चलाउन लागिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्री दाहालबिरुद्ध नारावाजी गरेको भन्दै प्रहरीले मंगलवार प्रदर्शनकारीलाई मुख थुनेर पक्राउ गरेको थियो । पक्राउपछि पनि कुटपिटसहित मुख थुनिएको थियो । सो दृष्यलाई लिएर सरकार र प्रहरीको चर्काे आलोचना भएको छ ।