जनता टाइम्स

९ चैत्र २०७९, बिहीबार १९:०६

नेपाली सेनाबारे भइरहेको बहशप्रति प्रधानसेनापतिले फर्काए कठोर जवाफ


पोखरा, चैत ९ । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको संख्याको विषयलाई लिएर भइरहेका बहसप्रति कडा आपत्ति जनाउनु भएको छ ।

प्रधानसेनापति शर्माले सेनालाई कमजोर पार्ने नियोजित षडयन्त्रका साथ बहश भइरहेको भन्दै कडा जवाफसमेत फर्काउनु भएको छ ।पोखराको फूलबारीमा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलनमा शर्माले नेपाली सेनाको निर्धारण गर्ने काम स्वघोषित प्राज्ञ र स्वघोषित विज्ञ, सुरक्षा विज्ञ नभएर नेपाल सरकार रहेको बताउनु भयो ।

‘आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्दछ । न कि कुनै एनजिओ, आइएनजिओमा बसेर आफैं स्वघोषित प्राज्ञ, स्वघोषित विज्ञ, सुरक्षा विज्ञ भन्नेहरूले गर्ने होइन, नेपाल सरकारको काम हो,’ प्रधानसेनापति शर्माले भन्नुभयो ।

सेना र सरकारभन्दा बाहिरका व्यक्तिबाट नेपाली सेनाको संख्या यति, उति हुनुपर्छ भन्नेमा कुनै सत्यता नरहेको पनि प्रधान सेनापति शर्माले बताउनु भयो । ‘समयसमयका कसको इसारामा हो, बाहिरी व्यक्तिहरूबाट नेपाली सेनाको संख्या यति हुनुपर्छ, उति हुनुपर्छ, यस्तो साइजको हुनुपर्छ र अन्य नचाहिँदो किसिमका कुराहरू पनि हुने गर्छ र त्यसलाई प्रकाशित पनि गर्ने गरेको पाइएको छ,’ प्रधानसेनापतिले भन्नुभयो, ‘यो हास्यास्पद हो ।’

उहाँले नेपाली सेनाका बारेमा गलत तथा अनर्गल प्रचार भइरहेको आरोप पनि लगाउनु भयो । ‘नेपाली सेनाले संविधान सम्भव निर्वाह गरिएका जिम्मेवारीहरूको बारेमा बेला मौकामा कुनै वर्ग वा केही त्यसका अंशियारहरूले दुष्प्रचार गर्ने नियतले अनर्गल गाली र त्यसका प्रचारहरू हुने गरेको तपाईं र हामीलाई यो सञ्चार तथा सामाजिक सञ्जालबाट प्रसारित हुने त्यस किसिमका भ्रामक प्रचारबाजीबाट तपाईं सबै टाढा रहनुपर्छ,’ शर्माले भन्नुभयो ।

उहाँले सेनाको बारेमा जानकारी लिन वेभसाइट नै काफी रहेको भन्दै भ्रम नछर्न आग्रह गर्नुभयो । ‘तपाईंहरूलाई जान्न इच्छा भएमा हाम्रा वेबसाइटहरू सम्बन्धित विभागका गरिएका परिपत्र, नेपाल सरकारबाट आएका आदेश तथा निर्देशनबाट नै प्रस्ट रूपमा कुरा बुझ्न सकिन्छ । अनर्गल प्रचारको पछि नलाग्नुहोला,’ प्रधानसेनापति शर्मााके भनाई थियो ।