जनता टाइम्स

१० चैत्र २०७९, शुक्रबार ०८:४४

वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन


काठमाडौँ, १० चैत्र । रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षीय ताम्राकारको निमोनियाको उपचारका सिलसिलामा बिहीबार राति निधन भएको परिवारले बताएको छ ।बनेपामा जन्मिएकी ताम्राकार नेपाली भाषालाई असाध्यै माया गर्ने सञ्चारकर्मी मानिन्थन् ।

२०१८ साल जेठ २४ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै ‘नासो’, ‘हाम्रो देशको माटो’, ‘हाम्रो वन हाम्रो जीवन’ लगायत कार्यक्रम सञ्चालन गरेकी थिइन् । ‘वातावरण’ कार्यक्रम चलाएबापत उनले सन् १९८९ मा राष्ट्रसंघीय वातावरण कार्यक्रम ९युनेप० अन्तर्गत ग्लोबल ५०० रोल अफ अनर अवार्ड पाएकी थिइन् ।उनी पछिल्लो समय ईमेज एफएम ९७.९ मा उज्यालो नामको कार्यक्रम सञ्चालन गर्दै आएको ईमेज एफएमले जनाएको छ । उनी चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियानमा पनि सक्रिय रहेकी थिइन् ।