जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार ११:५५

ओली निकट नेतामाथि कार्वाही गर्न माधवको माग, प्रधानमन्त्रीले माग्दा पनि गरेनन स्वास्थ्यलाभको कामना


काठमाडौं, भदौं ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको बचाउ गर्ने नेताहरुमाथि कार्वाहीको माग गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा नेता नेपालले सो माग गर्नुभएको हो । आजको सचिवालय बैठकमा नेता नेपालले केन्द्रीय कमिटी सदस्य तथा प्रेस संगठन नेपालका इञ्चार्ज राजेन्द्र गौतममाथि कार्वाहीको माग गर्नुभएको हो ।

नेता गौतमले हिजो पार्टी अध्यक्ष ओली महाधिवेशनबाट म्याण्डेट पाएको अध्यक्ष र जनताबाट अनुमोदिन नेता भएको भन्दै अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाडन नहुने अडान राख्नुभएको थियो । नेता नेपालले नोट अफ डिसेन्ट राख्दै ओलीले दुई मध्ये एक पद मात्र रोज्नुपर्ने चुनौती दिएपछि गौतमले सो धारणा राख्नुभएको थियो । सोही बिषयलाई लिएर नेता नेपालले आज गौतममाथि कार्वाहीको माग राख्नुभएको सचिवालयका एक सदस्यले जनताटाइम्सलाई बताए ।

वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताको १५ महिनापछि ‘एक व्यक्ति एक पद’ लागु गर्नुपर्ने भन्दै लिखित अहसमति केन्द्रीय कार्यालयमा दर्ता गरेपछि गौतमले काउन्टर दिनु भएको थियो । उहाले सामाजिक सञ्जालमा ‘किन छोड्ने केपी ओलीले ?’ भनेर सातै बुँदामा जवाफ दिनु भएको छ । नेता गौतमले राष्ट्रियताको रक्षा, राष्ट्रिय एकताको संरक्षण गरेकाले छोड्नुपर्ने वा तेस्रो स्थानको पार्टीलाई पहिलो बनाएकाले छोड्नुपर्ने भनेर प्रश्न गर्नुभएको छ । यसैगरी राष्ट्रिय राजनीतिमा स्थिर सोच र भूमिका सुस्पष्ट पारेकोले अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक छाड्नुपर्ने कि ऐतिहासिक कम्युनिष्ट एकता गरेकाले छाड्नुपर्ने भनेर उल्लेख गर्नुभएको छ ।

नेता गौतमले अध्यक्ष एंव प्रधानमन्त्री ओलीले जनताका मुर्छित सपनालाई ब्युझाएको समेत बताउनु भएको छ । उहाले जनतामा छाएको निराशालाई ओलीले आशा जगाएको उल्लेख गर्नुभएको हो । यसैगरी उहाले जनताले ओलीलाई प्रधानमन्त्रीका रुपमा पाँच वर्ष र पार्टीको महाधिवेशनले ओलीलाई अध्यक्ष बनाएकाले दुवै पद नछाड्ने स्पष्ट पार्नुभएको छ । ‘जनताले ओलीलाई ५ बष॔को म्यान्डेड दिएको हो, पार्टी अध्यक्ष महाधिवेशनले बनाएको हो’, उहाले अगाडी लेख्नु भएको छ,‘त्यसकारण ओलीले नत अध्यक्ष, नत प्रधानमंत्री छोड्दछन् । जनमत, र महाधिवेशनको म्यान्डेड केपी ओलीलाई नै छ।’ गौतमको सो भनाईले आफ्नो मान मर्दन भएको भन्दै नेपालले कार्वाहीको माग गर्नुभएको हो ।

आफ्नो बरियता घटुवा गरेपछि अध्यक्ष ओलीप्रति निकै आक्रामक रुपमा प्रस्तुत हुँदै आउनु भएका नेता नेपालले आजको बैठकमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लाग्नुभएका प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभकोकामनासमेत गर्न अस्वीकार गर्नुभएको ती नेताले बताए । स्वास्थ्य परीक्षण र फलोअपका लागि म सिंगापुर जाँदै छु, माधव कमरेड, नरिसाउनोस, मलाई स्वाथ्यलाभकको शुभकामना दिनोस भन्दै ओली आफैले प्रस्ताव राख्दा नेता नेपाल रिसाएर केही नबोली स्वास्थ्य लाभको कामनासमेत नगरेको ती नेताको भनाई छ । पछिल्लो समय नेता नेपाल अध्यक्ष ओलीबिरुद्ध अभियान नै छेडेर लाग्नुभएको छ ।

ओली निकट नेतालाई प्रभावकारी संगठनमा जिम्मेवारी दिन हुन्न भन्ने अडानमा रहनुभएका नेता नेपाललाई अध्यक्ष ओलीले अस्वीकार गरेपछि रिसाउनु भएको हो । नेपालले स्वास्थ्यलाभको सुभकामना नदिए पनि बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले फलोअपका लागि सिङ्गापुर जान लाग्नुभएका प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामना गरेको हो।

बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँ सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले सांगठनिक एकताका बाँकी कामबारे छलफल भए पनि ठोस निर्णय नभएको र छिट्टै अध्यक्ष प्रचण्डले बैठक आह्वान गरी निर्णय लिइने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । यसअघि भने दुवै अध्यक्षको परामर्शमा बैठक डाक्न सक्ने व्यवस्था रहेको थियो ।

प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य उपचारका लागि आज अपराह्न सिङ्गापुर प्रस्थान गर्दै हुनुहुन्छ । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल नभए पनि सिङ्गापुरमा रहँदा चिकित्सकको सुझावअनुसार पुनः जान लाग्नुभएको हो । प्रधानमन्त्री ओली ७/१० दिन त्यहाँ रहनुहुने जनाउँदै श्रेष्ठले यसबीचमा पार्टीले गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी आजको बैठकमा भएको जानकारी दिनुभयो । नेकपामा प्रवास कमिटी, महानगरहरुको नेतृत्व, पोलिट्व्युरो गठन, अन्य केन्द्रीय सदस्यहरुको कार्यविभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ ।