जनता टाइम्स

११ चैत्र २०७९, शनिबार १७:४२

विदेशबाट फर्किएका युवालाई सही रूपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्थामा सुधार हुन्छ : अध्यक्ष ओली


काठमाडौं, चैत ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशबाट फर्किएका युवाहरूलाई सही रूपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्थामा सुधार हुने तथ्य औल्याउनु भएको छ ।

अध्यक्ष ओलीले विदेशबाट फर्केकाहरुको ज्ञान र सीप देश निर्माणमा लगाउनुपर्ने धारणा पनि राख्नुभएको छ । काठमाडौंमा आजबाट सुरु भएको पार्टी निकट जनवर्गीय संगठन रिटर्नी फेडेरेसन नेपालको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

उहाँले विदेशबाट फर्किएकाहरुले कामसँगै अन्य धेरै कुरा सिकेर आएको र ती ज्ञान र सिपलाई देश निर्माणमा सदुपयोग गर्न आवश्यक रहेको बताउनुभयो । विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सीप, केही संकल्प र अठोट लिएर आएका हुने भन्दै उहाँले त्यसलाई देश निर्माणको काममा लगाउन रिटर्नी नेतृत्वलाई सुझाव दिनुभयो ।

‘विदेशमा बसेर फर्केकाहरुले केही ज्ञान, केही सीप, केही संकल्प र अठोट लिएर आएका हुन्छन्, तपाइँहरुले गाउँ मात्र देखेको छैन शहर पनि देखेको छ, देश मात्र होइन विदेश(प्रदेश पनि देख्नुभएको छअनौठा अनौठा भाषा तपाइँहरुका कानले सुनेका छन्,अनौठा(अनौठा देश र मान्छे देखेका छन् तपाइँहरुका आँखाले, त्यो यहाँ सदुपयोग गर्नुस,’ अध्यक्ष ओलीले भन्नुभयो ।

नेपालको धर्ती जेका लागि पनि उपयुक्त रहेको भन्दै उहाँले तापक्रम, बसाइ, वातावरण सबै हिसाबले स्वर्ग भएको बताउनुभयो । नेपाल स्वर्ग हुँदाहुँदै पनि विदेश जानुपर्ने वाध्यता रहेको अध्यक्ष ओलीले बताउनुभयो । ‘परिस्थितिले, वाध्यताले, कति कारणले बाहिर गएका हुन्छौं, जाने बाध्यता हुन्छ, परिस्थिति हुन्छ, त्यस परिस्थितिलाई पार गरेर हामी स्वदेश फर्किएका हुन्छौं, स्वदेश फर्किँदा केही ज्ञान, केही सीप, केही संकल्प, केही अठोट बोकेर आएका हुन्छौं, तर कहिलेकहिले कस्तो हुन्छ भने-कुन उत्साहका साथ फर्किएर आयो, यहाँ एक्लै परिन्छ, गाउँका खेत उस्तै छन्, अझ बाँझा, बारी उस्तै छन्, अझ बाँझा, अझ रूखा भएका हुन्छन्, अनि उही कुटो, उही कोदालो, उही परम्परागत ढाँचाको खेतीपाती,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो ।

उहााले भएका उद्योग पनि सिद्धिएर उद्योगविहीनताको स्थिति देख्दा एक्लो महशुस हुने अवस्था समेत सृजना हुने बताउनुभयो । विदेशबाट फर्किएकाहरुको संगठन रिटर्नीले विदेश जाँदाका, विदेशमा रहँदाका र फर्किँदाका हरेक समस्यालाई मिलेर समाधान गर्नुपर्छ भन्ने मुख्य सन्देश दिएको उहाँको भनाई छ ।

पदमा ध्यान दिएर कहिँ नपुगिने भन्दै अध्यक्ष ओलीले काममा ध्यान दिन पनि सुझाव दिनुभयो । आगामी दिनमा कसरी अघि बढ्ने भन्ने नीति निर्माण गर्ने र ती नीति कार्यान्वयनका लागि योजनाबद्ध ढंगले काम गर्न सक्ने, संगठन परिचालन गर्न सक्ने नेतृत्व छान्न उहाँले सुझाव दिनुभयो । सकेसम्म सर्वसम्मत नभएर लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिनुभयो ।

संगठनमा सबै सक्षम भएपनि एक जना छान्नुपर्ने नियम रहेको बताउँदै उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीमा थुप्रै सक्षम नेता हुनुहुन्छ तर एउटा छान्नुपर्दोरहेछ मलाई छान्नुहुन्छ अध्यक्ष ।’ पहिला आफू सप्रिन र सक्षम बन्न अनि देश सपार्ने अभियानमा लाग्न पनि रिटर्नीका नेता(कार्यकर्तालाई अध्यक्ष ओलीले सुझाव दिनुभयो । कुराले मात्रै अघि बढ्न नसकिने भन्दै उहाँले काम गर्न मैदानमा भिड्नुपर्ने तथ्य पनि औल्याउनु भयो ।