जनता टाइम्स

१२ चैत्र २०७९, आईतवार १०:४८

सत्ता गठबन्धन तमासा देखाइरहेको छ, आर्थिक क्षेत्रमा देखिएका समस्या र जनताका समस्या समाधानमा बिल्कुलै ध्यान छैन : बिष्णु पौडेल


सुर्खेत,चैत १२। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धनले मुलुकमा तमासा देखाइरहेको बताउनु भएको छ । उपाध्यक्ष पौडेलले अहिले जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेको पनि बताउनु भयो । ।

सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले विश्वासको मत पाएको लामो समय बित्दा पनि गठबन्धनले मन्त्रिमण्डलसमेत विस्तार नगरेर तमासा गरिरहेको बताउनु भयो ।

‘दलहरूबाट धेरै उपप्रधानमन्त्री दाबी भइरहेको छ । प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत पाएको धेरै दिन भयो । तर मन्त्रिमण्डल विस्तार गर्न सरकारले सकिरहेको छैन,’ एमाले उपाध्यक्ष पौडेलले भन्नुभयो ।

पौडेलले सरकारले आर्थिक समस्या समाधानमा बिल्कुलै ध्यान नदिएको पनि बताउनु भयो । ‘सरकार बिस्तार गर्न नपाउँदै प्रधानमन्त्री चर्को समस्यामा पर्नुभएको छ, सरकारलाई आर्थिक क्षेत्रमा देखिएका समस्या र जनताका समस्या समाधानमा ध्यान छैन। पद र जिम्मेवारीमा मात्रै गठबन्धनको ध्यान छ। जनता र हामी यो गठबन्धनको तमासा हेरिरहेका छौं,’ पौडेलले भन्नुभयो ।

गत पुस १० को गठबन्धन तोडेर प्रधानमन्त्री अर्को गठबन्धनमा गएको उहाँले बताउनु भयो । ‘हामीलाई उहाँले धोका दिएर जानुभयो, ‘यो प्रतिनिधि सभाबाट राजनीतिक स्थायित्व सम्भव छैन। यो सरकारले समृद्धि पनि दिन सक्दैन,’ पौडेलको भनाई छ ।

पौडेलले अहिलेको गठबन्धन देशभित्रका राजनीतिक दलले मात्र नभई विदेशीको अबान्छित हस्तक्षेपका बीच बनेको आरोपसमेत लगाएका छन्।