जनता टाइम्स

१२ चैत्र २०७९, आईतवार १८:२४

प्रधानमन्त्री बनेको भोलिपल्टबाटै प्रचण्ड गम्भीर षडयन्त्रमा लागेको ओलीको खुलासा


अर्घाखाँची, चैत १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी भएको तथ्य खोल्नुभएको छ ।एमाले अर्घाखाँचीलेसन्धिखर्कमा आज आयोजना गरेको मिसन ग्रासरुट कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो तथ्य खोल्नुभएको हो ।

उहाँले एमाले नेतृत्वको सरकारले मुलुक र जनताको हितमा राम्रो काम गरेको कारण अहिले सबैले घेराबन्दी गरेको बताउनु भयो । ‘हामीविरुद्ध घेराबन्दी छ । एमालेले जतिबेला सरकारको नेतृत्व गर्ने मौका पायो, त्यो बेला नै राम्रो काम गरेकाले अहिले चारैतिरबाट घेराबन्दी गरेका छन,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले अहिले एमालेबिरुद्ध सवै दल लागे पनि आगामी निर्वाचनमा आफूहरुको बहुमतसहित जीत निकालेर जवाफ दिनुपर्ने बताउनु भयो । ‘अब अरु एकातिर, एमाले अर्काेतिर भए पनि आउँदो चुनावमा बहुमत सांसद जित्नुपर्छ । सुरुदेखि हालसम्म एमाले सरकारले देशको विकास र समृद्धिमा असाधारण काम गरेको छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।

एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेल्नसक्ने भन्दै त्यसतर्फ सचेत रहन पनि ओलीले कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो । ‘अब एमाले बहुमतका साथ उदाउँछ अनि सरकार बनाएर देशको विकास गर्छ,’ ओलीले भन्नुभयो, ‘एमालेसँग नीति, भिजन, मिसन, अठोट, संकल्प र देशको माया छ । त्यो अरुमा छैन ।’

अब हुने संसदीय चुनावमा एमालेले ५१ प्रतिशत (बहुमत) मत ल्याएर एकल सरकार बनाउने उदघोष पनि उहाँले गर्नुभयो । हाल जितेका ठाउँलाई सुरक्षित राख्दै हारेका ठाउँमा जित्नेगरी संगठन बनाउन पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल सच्चिने हुन कि भनेर पदमा पुर्याइदिए पनि नसुध्रेको बताउनु भयो । प्रधानमन्त्री दाहालको नाम नलिई उहाँले भन्नुभयो, ‘झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन ।’