रौतहट, चैत १४ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले पार्टीलाई भित्तामा पुर्याउँछौं भन्नेहरु आफै भित्तामा पुगेको उदघोष गर्नुभएको छ ।
मिसन ग्रासरुट अभियानकोक्रममा रौतहट सदरमुकाम गौरमा आज आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनु भएको हो ।
नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुलाइ इंगित गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेलाई भित्तामा पुर्याउँछु भन्नेलाइ गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली जनताले नै भित्तामा पुर्याइ दिएको बताउनु भयो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले जनताको माया र स्नेहले नै नेकपा एमाले समानुपातिक मतमा पहिलो भएको र अब आउने निर्वाचनमा स्पष्ट बहुमत ल्याउने गरी योजनावद्ध ढंगले जनताको काम गरिरहेको बताउनु भयो । मिसन ग्रास रुटको मुख्य उदेश्य भनेको नै तल्लो तहका नेता तथा कार्यकर्ताहरुको समस्याको समाधान र पार्टीलाई जगदेखि नै बलियो बनाउनु रहेको पनि पोखरेलले बताउनु भयो ।
कार्यक्रमका एमाले सचिव रघुबीर महासेठले नेकपा एमाले पार्टी भनेको सालको रुख भएको बताउनु भयो । मधेश प्रदेश इन्चार्ज समेत रहेका महासेठले एमाले पार्टी सालको रुख जस्तो बलियो पार्टी रहेको र अब मिसन ग्रासरुट कार्यक्रमले झन बलियो बन्दै गएको बताउनु भयो । नेकपा एमाले पार्टी जनताको पार्टी भएकै कारण मधेशमा एमाले पहिलो पार्टी बनेको सचिब महासेठको भनाई थियो ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्यद्धय अच्युत मैनाली र पुरुषोतम पौडेलले मिसन ग्रास रुटको उदेश्यबारे प्रकाश पार्नुभएको थियो । एमाले रौतहट जिल्ला संयोजक सचितान्नद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रौतहट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी उमेदवार अजय गुप्ताले स्वागत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्