जनता टाइम्स

१५ चैत्र २०७९, बुधबार १७:४६

झलनाथ खनालको निश्कर्ष : माधव नेपालबाट राष्ट्रियता र कम्युनिस्ट आन्दोलनको नेतृत्व हुँदैन


काठमाडौं, चैत १५ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालबाट राष्ट्रियता र कम्युनिस्ट आन्दोलनको नेतृत्व हुन नसक्ने निश्कर्ष सुनाउनु भएको छ ।

माधवको कार्यशैल राष्ट्रियता र कम्युनिष्ट आन्दोलनको बिरुद्धमा केन्द्रित रहेको र सम्पुर्ण रुपमा कम्युनिष्ट आन्दोलन सकाउने मिसनमा लागेको भन्दै सम्मानित नेता खनालले आफू निकट नेताहरुसँग यस्तो निश्कर्ष सुनाउनु भएको हो । खनालले पछिल्लो स्थायी कमिटी र सचिवालय बैठकमा पनि लामो सम्बोधन गर्दै नेपालको आलोचना गर्नुभएको थियो ।

सम्मानित नेता खनालले आफू निकट नेतासँगको छलफलमा पछिल्लो समय माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा र भारत निकट नेताहरुसँग बढी घुलमिल भएको तथ्य समेत खोल्नुभएको सहभागी एक नेताले जनताटाइम्स डटकमलाई बताए । ती नेताका अनुसार अध्यक्ष नेपालको कार्यशैली, उठबस सवै कम्युनिष्ट आन्दोलनको रक्षा गर्नेभन्दा समाप्त पार्नेतिर केन्द्रित भएको खनालको निश्कर्ष छ । यही कार्यशैली रहे बिद्रोह जरुरी भइसकेको पनि खनाललको भनाई रहेको ती नेताले बताए ।

‘हाम्रो पार्टी जुन ढंगबाट गठन भयो, एमालेबाट बिद्रोह गरेर गठन गरियो, नेतृत्वको कार्यशैली बेठिक भयो भनियो तर अहिले हाम्रो पार्टीको नेतृत्व त त्यो भन्दा धेरै गुणा खत्तम भयो,’ खनालको भनाई उधृत गर्दै जनताटाइम्स डटकमसँग ती नेताले भने । आफू निकटसँग खनालले नेपालप्रति कडा आक्रोश समेत पोख्नुभयो । ‘माधव नेपालबाट राष्ट्रियता र कम्युनिस्ट आन्दोलनको नेतृत्व हुँदैन, कुनै पनि बेला ठोस कदम चाल्नुपर्ने हुनसक्छ,’ ती नेताका अनुसार खनालको भनाई थियो ।

ती नेताका अनुसार नेकपा एसका अध्यक्ष माधव नेपालको पछिल्लो गतिविधिप्रति सम्मानित नेता खनाल निकै धेरै असन्तुष्ट देखिनुभएको छ । खनालले कम्युनिस्ट पार्टी कमजोर बनाउन माधव नेपालको भूमिका देखिएको भन्दै अब के गर्ने भन्नेबारेमा केन्द्रीय तहका नेताहरूसँग परामर्श समेत थाल्नुभएको छ ।

खनालले कुनै पनि बेला राष्ट्रियता र वामपन्थी आन्दोलनको पक्षमा कदम चाल्नुपर्ने हुनसक्छ भन्दै आफूनिकट नेता कार्यकर्ताहरूलाई तयार रहन भनेको छलफलमा सहभागी अर्का नेताले बताए । उनका अनुसार खनालले माधव नेपालबाट वैचारिक सैद्धान्तिक काम नहुने र कम्युनिस्ट आन्दोलन पनि अघि नबढ्ने निश्कर्ष सुनाउनु भएको छ ।