जनता टाइम्स

१६ चैत्र २०७९, बिहीबार ०५:५१

सत्ताको आडमा कांग्रेस नेताले यसरी चलाएका थिए नक्कली शरणार्थी परिचयपत्रको धन्दा


मोरङ, चैत १६ । नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र बाँड्दै लाखौं ठगी गर्ने गिरोहका नाइके भनिएका केशव दुलाल सत्तारुढ नेपाली कांग्रेसका नेता रहेको तथ्य उजागर भएको छ । गत आइतबारदेखि प्रहरी हिरासतमा रहेका दुुलालले कांग्रेसकै आडमा लामो समयदेखि यस्तो अबैध धन्दा चलाइरहेको पाइएको हो ।

दुलाल नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाउने धन्दामा एक दशकअघि नै लागिसकेको पाइएको हो ।

दुलालको घर मोरङको पथरीस्थित भुटानी शरणार्थी शिविरनजिकै छ । भुटानी शरणार्थी सरोकारसँग चिरपरिचित दुलाल राजनीतिक पहुँच बढाएपछि ठगी धन्दामा लागेको अनुसन्धानबाट खुलेको छ । दुलाल २०५७ सालमा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ मोरङको सचिव थिए । नेविसंघको केन्द्रीय सदस्यमा मनोनीत भएपछि काठमाडौंमा कांग्रेसका नेताहरूसँग उनको उठबस सुरु भएको थियो ।

विराटनगरको कोइराला निवासमा बाक्लै आउजाउ गर्ने क्रममा दुलाल कांग्रेस नेतृ सुजाता कोइरालासँग नजिकिए । २०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका बेला कोइरालाले दुलाललाई निजी सहायकमा नियुक्त गर्नुभयो । त्यही जिम्मेवारी पाएसँगै दुलालले विभिन्न दलसँग सम्बन्ध बढाए ।

कोइरालाको निजी सहायक भएकै बेला दुलाल कर्मचारीतन्त्रसँग ‘सेटिङ’ मिलाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउँदै विभिन्न मुलुक पठाउने धन्दामा लागेको अनुसन्धानले देखाएको छ ।

दुलालले पथरी–१० का पूर्ववडाध्यक्ष सागर राई, कानेपोखरीका धिरन राई, बेलबारी–११ का हालका वडाध्यक्ष विक्रम बान्तवा राई, बेलबारी–१० का अध्यक्ष गंगा याखा, बेलबारी–४ का इन्द्र राई र वडा ६ का कांग्रेस महाधिवेशन प्रतिनिधि डम्बर राईलाई स्थानीय एजेन्ट बनाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो मुलुक पठाउने नाममा रकम उठाउने गरेको पीडितहरुको भनाइ छ । पीडितका अनुसार दुलाल संलग्न गिरोहले प्रतिव्यक्ति १० देखि ३० लाख रुपैयाँसम्म उठाउने गरेको थियो ।

दुलालसहितको गिरोहले अमेरिका लैजान ८७५ नेपालीलाई शरणार्थी बनाएको तथ्य समेत खुलेको छ । अमेरिका जान नपाएपछि नेपाली नागरिकले एजेन्टसँग रकम फिर्ता माग्न थालेका थिए । यस क्रममा बेलबारी–१० का वडाध्यक्ष गंगा याखाले ३० लाख रुपैयाँ फिर्तासमेत गरेको स्थानीयको भनाइ छ ।

दुलालका स्थानीय एजेन्टविरुद्ध बेलबारी–११ को वडा कार्यालयमा समेत उजुरी परेको छ । तत्कालीन वडाध्यक्ष राजन भन्ने यमबहादुर पोखरेलले ‘अमेरिका लैजाने भनेर वैदेशिक रोजगारीका नाममा ठगिएको भन्दै केही व्यक्तिबाट परेको लेनदेनको उजुरीलाई प्रमाणित गरी पठाइदिएको’ जानकारी दिनुभयो । दुलाल कांग्रेसको गत महाधिवेशनमा मोरङ क्षेत्र नं. ३ को सभापतिमा उम्मेदवार बनेका थिए ।