जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार १५:०१

बामदेव गौतमको ठोकुवा : पूर्वएमाले र पूर्वमाओवादी गुट समाप्त, माधवको प्रस्ताव स्वीकार हुन्न


काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेता बामदेव गौतमले सचिवालयमा सदस्य थप नहुने प्रष्ट पार्नुभएको छ । आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्षमा प्रस्तावित नेता गौतमले नेता माधवकुमार नेपालले प्रस्ताव गरेको भएपनि सचिवालयमा सदस्य थप नहुने प्रष्ट पार्नुभएको हो ।

गत भदौ १ गतेको सचिवालय बैठकमा वरियतामा छलफल हुँदा नेता नेपालले तत्कालीन नेकपा (एमाले) मा रहेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा थप गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । सचिवालयले नेपालको प्रस्ताव अस्वीकार गरेको छ । ‘सचिवालयमा सदस्य थप्ने अहिले सोचाइ छैन, पार्टीमा कुनै त्यस्तो विवादको अवस्था पनि छैन । पार्टीमा पूर्वएमाले र पूर्व माओवादीको गुट छैन, अव नेकपामा एउटै गुट छ,’ गौतमले भन्नुभयो ।

भदौ १ गतेको बैठकले बरियता हेरफेर गर्दै वरिष्ठ नेतामा झलनाथ खनाललाई राखेपछि नेपालले असन्तुष्टि जनाउदै तीन नेतालाई सचिवालयमा प्रस्ताव गर्नुभएको थियो । नेता खनालले तत्कालीन एमालेमा आफू निवर्तमान अध्यक्षका हैसियतमा पहिलो वरिष्ठ नेताका रुपमा रहेकाले एकीकरणपछि पनि सोही वरियता हुनुपर्ने माग गर्दै आउनुभएको थियो ।

नेता गौतमले एकतापछि केन्द्रीय विभाग गठन भएकाले अब अन्य साङ्गठनिक कामले पनि गति लिने बताउनुभयो । उाँले आफूलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान संशोधनपछि मात्र कार्यान्वयनमा आउने जानकारी दिनुभयो । गत साउन ३१ गतेको सचिवालय बैठकले गौतमलाई पार्टीमा उपाध्यक्ष बनाउन स्थायी कमिटीमा प्रस्ताव गर्ने निर्णय गरेको थियो ।

‘यो निर्णयले तपाईं पार्टीमा पुनःशक्तिशाली बन्नुभएको भनिन्छ नि’ भन्ने पत्रकारको प्रश्नमा गौतमको चलाखीपुर्ण जवाफ दिनुभयो । ‘त्यस्तो होइन, म हिजो जे थिएँ, आज पनि त्यहीँ छु । मेरो भूमिका उही रहनेछ,’ गौतमले भन्नुभयो । पार्टी एकताका लागि निर्णायक भूमिका खेल्नुभएका गौतम केन्द्रीय सङ्गठन विभागको प्रमुख र अखिल नेपाल किसान महासङ्घको इञ्चार्ज पनि हुनुहुन्छ ।