जनता टाइम्स

१६ चैत्र २०७९, बिहीबार १६:३८

देउवा–आरजुको अपराध भण्डाफोर गर्दै डा. स्वर्णिम वाग्लेले छाडे कांग्रेस


काठमाडौं, १६ चैत । वरिष्ठ अर्थविद् डा. स्वर्णिम वाग्लेले औपचारिक रुपमा नेपाली कांग्रेस छोड्नुभएको छ । उहाँले कांग्रेस नेताहरुलाई पत्र लेखेर यसको जानकारी गराउनुभएको छ । पत्रमा उहाँले कांग्रेसप्रति अपार सद्भावका बावजुद आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको उल्लेख गर्नुभएको छ ।

उहाँले नेताहरुलाई भेटेर कुरा राख्दा कांग्रेस नछोड्न आग्रह गर्ने भन्दै आफू निगाह कुरेर नबस्ने उल्लेख गर्नुभएको छ । डा. वाग्लेले समय तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै डेलिभरीको प्रयासमा लागेको बताउनुभएको छ ।

यस्तो छ स्वर्णिमको पत्र

प्रिय दाइ,
हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।

अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ । यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ ।

कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।

स्वर्णिम