जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार १९:१०

‘रवि लामिछानेको न्यायको आवरणमा राजतन्त्रको आमन्त्रण नगरौं’


काठमाडौं, भदौं ५ । नेपाल राष्ट्रिय बुद्विजीवी संगठन चितवनले रवि लामिछानेको रिहाइका लागि गरिएको प्रदर्शनमा राजतन्त्रको आमन्त्रण गर्नु आफूहरुका लागि मान्य नभएको बताएको छ। संगठनले बिहीबार विज्ञप्ति जारी गर्दै पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका निष्पक्ष अनुसन्धानमा सहयो गर्न पनि आग्रह गरेको छ ।

संगठनका जिल्ला अध्यक्ष प्रेमराज रिमालले जारी गरेको विज्ञप्तिमा कसैले पनि आफू अन्यायमा पर्न नपरोस् र दोषी छुट्न नपाओस् भन्नेमा आफूहरु गम्भिर रहेको उल्लेख गरिएको छ। विज्ञप्तिमा प्रदर्शनमा भएका अवाञ्छित गतिविधि रोकेर संयमता अपनाउन पनि सबैमा अपील गरिएको छ।

विज्ञप्तिमा आन्दोलनका नाममा राजतन्त्रको वकालत आफूहरुका लागि मान्य नभएको भन्दै त्यस्ता तत्वहरुबाट सचेत रहनसमेत आग्रह गरिएको छ। रिमालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राजा आऊ देश बचाऊ’ भन्ने अनि सामन्ती पूर्वराजा र राज परिवारका सदस्यहरूको जन्मोत्सव मनाउने मण्डलेका हाँगाबिँगाहरू यतिबेला सर्वसाधारण जनताको भेलामा वक्ता बनेर बोलिरहेको दृश्यले ती न्यायप्रेमी श्रोताहरूको अपमान भएको छ।’

यस्तो छ संगठनको विज्ञप्ति

पत्रकार शालिकराम पुडासैनीको सङ्कास्पद आत्महत्यासँग जोडिएर टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेसमेतको गिरफ्तारीले यति बेला चितवनमा विशेष चर्चा पाएको छ। कसैले पनि अन्यायमा पर्न नपरोस् अनि दोषी छुट्न पनि नपाओस् भन्ने पक्षमा नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन छ। यति बेला चितवनको सदरमुकाममा रवि लामिछानेको पक्षमा अनुसन्धानलाई नै प्रभाव पार्ने ढङ्गले गतिविधि भएका छन्। यसले हामीलाई चिन्तित बनाएको छ।

यो देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि अधिकांश नेपाली जनताको साथ पाएका राजनीतिक दलहरू र मूख्य नेताहरूलाई तथानाम गाली गर्ने र यो व्यवस्थालाई नै उल्ट्याइदिने भन्नेसम्मका अभिव्यक्ति सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण समेत भएको देख्दा र सुन्दा हामीलाई चिन्तित बनाएको छ। ‘राजा आऊ देश बचाऊ’ भन्ने अनि सामन्ती पूर्वराजा र राज परिवारका सदस्यहरूको जन्मोत्सव मनाउने मण्डलेका हाँगाबिँगाहरू यतिबेला सर्वसाधारण जनताको भेलामा वक्ता बनेर बोलिरहेको दृश्यले ती न्यायप्रेमी श्रोताहरूको अपमान भएको छ। त्यसैले वर्तमानमा क्रियाशील राजनीतिक दलहरूका कमजोरी, तिनका कतिपय नेताहरूका प्रतिगामी ढङ्गका जीवनशैली र सरकारको तर्फबाट जनअपेक्षा अनुरूप काम हुन नसकेका कमजोरीहरूलाई देखाएर प्राप्त राजनीतिक उपलब्धीलाई मासेर प्रतिगामी शक्तिको पुनर्बहाली गराउनेसम्मका दिवास्वप्न देख्न थालेका दुईचार जना रमितेले यो देशको संविधान र यो उपलब्धीका निम्ति जीवन उत्सर्ग गर्ने महान सहिदहरूलाई अपमान गरेको कुरा यो देशका सचेत बुद्धिजीवीका लागि स्वीकार्य छैन।

कुनै पनि व्यक्तिको जिउधनको रक्षा गर्नु सरकारको दायित्व हो। अझ पत्रकार र प्रस्तोताका रूपमा नेपाल र नेपाली जनताका पक्षमा काम गर्ने सचेत नागिरक अगुवालाई संरक्षण गर्नु त राज्यको प्रमुख दायित्व हो। कोही व्यक्ति सधैं ठीक र कोही सधैं बेठीक पनि हुँदैन। कानूनको सर्वोच्चतालाई स्थापित गराउन हरतरहले क्रियाशील पत्रकारिता क्षेत्रका मान्छेहरूले त झनै यो विषयमा गम्भीर हुनुपर्छ। पुलिस, सरकार र अझ कानून र अदालतप्रति नै निरपेक्ष अविश्वास फैलाएर नागरिक जीवनलाई नै असहज बनाउने, हिंसा भडकाउने खालका गतिविधि नगर्न र नगराउन सबै दाजुभाइ दिदीबहिनीसँग अनुरोध छ।

शान्तिपूर्ण विरोध, सभा र जुलुश गर्न पाउने नागरिक अधिकारको रक्षा गर्दै कतैबाट पनि हुने अवाञ्छित गतिविधिलाई समयमै नियन्त्रण गर्ने दिशामा सम्बन्धित पक्षको ध्यान जाओस्। सडकमा देखिएका सबै दाजुभाइ दिदीबहिनीलाई आफ्नै समर्थक ठानेर अपमान गर्नेहरूबाट बच्न पनि हामी अपिल गर्दछौं। अवाञ्छित गतिविधि गर्ने गर्न दुरूत्साहन गर्ने अनि हिंसात्मक परिस्थिति निर्माण गर्नेतिर अपरिचित तर अगुवाहरू लागेको गन्ध चलेको छ। त्यसैले सबै बुद्धिजीवी, विद्यार्थी, किसान, मजदुर र राजनीतिक पार्टीका नेता कार्यकर्ता र सामाजिक अभियन्ताहरूलाई यस्ता गतिविधिमा सामेल नभई सचेततापूर्वक कानूनी राज्यको चरित्र निर्वाह गर्न राज्यलाई दवाव दिने सभ्य तरिका अवलम्बन गर्न अनुरोध गरिन्छ।
प्रेमराज रिमाल
अध्यक्ष, नेपाल राष्ट्रिय बुद्विजीवी सङ्गठन नेपाल, चितवन