काठमाडौं, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । १० पुसमा प्रधानमन्त्री हुनुभएका उहाँले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । तर सरकारले अझै पूर्णता पाउन भने सकेको छैन।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गर्नुभएको छ । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री हुनुभएको छ भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री हुनुभएको छ । जनता समाजवादी पार्टी ९जसपा०को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री हुनुभएको छ ।
यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त हुनुभएको छ । माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्नुभएको छ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । ११ पुसमा भौतिक पूर्वाधारमन्त्री हुनुभएका उहाँलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र संघीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले निरन्तरता पाउनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शरदसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री हुनुभएको छ । नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्