जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार २०:३४

निवासमै बोलाएपछि प्रचण्ड र माधव नेपाल नभेटी फर्किए भारतीय बिदेशमन्त्री जयशंकर


काठमाडौं, भदौं ५ । भारतीय विदेशमन्त्री एस जयशंकर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट नगरी स्वदेश फर्किनु भएको छ ।

दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय बिदेशमन्त्री जयशंकरले बिहीबार बिहान ८ बजे नै प्रचण्डलाई भेटका लागि बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा आमन्त्रण गर्नुभएको थियो । तर पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले प्रोटोकल नमिल्ने भन्दै जयशंकरलाई निवासमै भेट्न निम्तो दिनुभयो । प्रचण्डको सो अडानपछि बिदेशमन्त्री जयशंकर प्रचण्ड निवास खुमलटार नगई स्वदेश फर्किनुभएको हो ।

पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईले भने जयशंकरलाई होटलमै गएर भेट गर्नुभएको छ । जयशंकरले देउवासँग आज १२ बजे र भट्टराईसँग १ बजे होटलमै भेट गर्नुभएको हो । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर हिजो नेपाल आइपुग्नुभएको थियो । नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटबार्ता गर्नुभयो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत जयशंकरसँग होटलमा गएर भेट गर्न अस्वीकार गर्नुभयो । नेपालले पनि भेटका लागि आफ्नो निवासमै बोलाउनु भएको थियो ।