जनता टाइम्स

१८ चैत्र २०७९, शनिबार ०९:००

खसीबोका चोरी गर्ने गिरोहसहित मासु पसल सञ्चालक पक्राउ


काठमाडौं, १८ चैत्र ।  भक्तपुरका विभिन्न ठाउँबाट गोठमा बाँधिएका खसीबोका चोरी गरेर बिक्री गर्ने गिरोहमध्येका दुई जनासहित मासु पसल सञ्चालक पक्राउ परेका छन् ।

खसीबोका चोरी गरी बा २ ज ४३२७ नम्बरको ट्याक्सीमा राखेर बिक्री गर्न लैजाँदै गरेका ट्याक्सी चालक रामेछाप दोरम्बा–१ घर भई अहिले सूर्यविनायक बस्ने २४ वर्षीय सुमन तामाङ र रामेछाप दोरम्बा–७ घर भई मध्यपुरथिमि बस्ने ४० वर्षीय मिलन तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।

प्रहरीले चोरी भएका खसीबोका खरिद गरी मासु बिक्री गर्दै आएका रामेछाप मन्थली नगरपालिका–५ सुनारपानी घर भई अहिले काठमाण्डौको पेप्सीकोला बस्दै आएका रामेछाप–उदयपुर मासु पसल सञ्चालक ४३ वर्षीय दिलबहादुर कार्कीलाई पनि पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा उनीहरुले काभ्रेपलाञ्चोकको विभिन्न आठ ठाउँबाट र भक्तपुरको १७ ठाउँबाट चार बोका र ३६ खसी गरी ४० खसीबोका चोरी गरेर बिक्री गरेको खुल्न आएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।