जनता टाइम्स

१८ चैत्र २०७९, शनिबार १९:१४

महराको खुलासा : प्रचण्ड प्रधानमन्त्री भएपनि देश अरु कसैले चलाइ रहेको छ


पूर्वी नवलपरासी, चैत १८ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्ण बहादुर महराले आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको भए पनि नेपालको सत्ता अरुले नै सञ्चालन गरिरहेको खुलासा गर्नुभएको छ ।

पूवी नवलपरासीमा आज आयोजित कार्यक्रममा महराले यस्तो खुलासा गर्नुभएको हो । उहाँका अनुसार नेपालको सत्ता नेपालीले नभएर ’अरु कसैले’ संचालन गरिरहेको छ ।

’देश अरु कसैले चलाइरहेको छ । प्रचण्ड, ओली र देउवा त पात्र हुन,’ प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै सभामुख र गृहमन्त्रीका समेत जिम्मेवारी सम्हालिसक्न भएका माओवादी उपाध्यक्ष महराले भइसकेका महराले भन्नुभयो ।

उहाँले सत्ता चलाउने त्यो अदृश्य शक्तिबारे भने खुलेर चर्चा गर्नुभएन । ’हुन त हाम्रै अध्यक्षको नेतृत्वमा सरकार छ, तर पनि हाम्रो बिडम्वना यही हो, जो प्रधानमन्त्री भए पनि हुने यही हो,’ महराको भनाई थियो ।

उहाँले वर्तमान सरकारले शान्ति प्रक्रियाका महत्वपूर्ण मुद्दा टुंगोमा पुर्याउनुपर्ने बताउनु भयो । लोकतन्त्र र संविधानमाथि अझै खतरा कायम रहेकाले यसको संरक्षणमा लाग्नुपर्ने पनि महराको भनाई छ । ’अझै पनि प्रतिगामीहरु टाउको उठाउन खोज्दैछन्, यसलाई निस्तेज गर्नुपर्छ,’ महराले भन्नुभयो ।