जनता टाइम्स

६ भाद्र २०७६, शुक्रबार ०९:२४

यसरी बिग्रियो नेकपा सचिवालय बैठकमा एकाएक माहोल, पर्यो ओली-नेपालबीच चर्काचर्की


काठमाडौं, भदौं ६ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जानु पर्ने दवावबीच हिजो नेकपाको सचिवालय बैठक बस्यो । बैठक सुरु गर्दै अध्यक्ष ओलीले आफू उपचारका लागि जान लागेको र बाँकी पार्टीको काम अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले बैठक राखेर टुंग्याउने प्रस्ताव गर्नुभयो ।

‘आज एजेन्डामा छलफल हुन्न । बैठकले मेरो स्वास्थ्यलाभको कामना गरोस् । म तपाईंहरूका शुभकामना लिएर उपचारमा जान्छु । मैले आफू नभएका बेला अब पार्टीको बैठक बस्ने र निर्णय लिने गरी प्रचण्डजीलाई जिम्मा दिएको छु । उहाँले म नहुँदा पनि बैठक राख्न सक्नुहुन्छ । आवश्यक निर्णय पनि लिन सक्नुहुन्छ । पार्टीका बाँकी एकताका काम टुग्याउँदै जानुहोस् । सबै निर्णय सहमतिका आधारमा गर्नुहोस् । आवश्यक पर्दा मसँग पनि टेलिफोन सम्पर्क गर्न सकिन्छ । तपाईहरू मिलेर पार्टीलाई सर्वसम्मत ढंगले चलाउँदै गर्नुहोस,’ बैठकमा ओलीले भन्नुभयो ।

उहाँको सो प्रस्तावलगत्तै बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो भनाई राख्दै अध्यक्ष ओलीमाथि कटाक्ष गर्नुभयो । आफ्नो धारणा राख्दै नेपालले भन्नुभयो, कुनै पनि हालतमा सर्वसम्मत हुँदैन । सबै निर्णय एकलौटी गरेर कसरी सर्वसहमति ? असहमतिकै बीचमा तपाईहरूले थुप्रै निर्णय गर्नुभएको छ । अबचाहिँ कसरी सहमति ? मैले आफ्नो असहमतिका कुरा लिखित रूपमा रखिसकेको छु । त्यसलाई पनि प्रस्तावका रूपमा छलफल गरेर लैजाऔं । अरूलाई अनेकथरी भन्नुहुन्छ । तपाईका निकटका मान्छेले चाहिँ जे पनि बोल्न र लेख्न मिल्छ ? उनीहरूलाई अनुशासन लाग्दैन रु मैले पार्टीमा आफ्ना कुरा राख्नसमेत नपाउने ? मैले नोट अफ डिसेन्ट राखेपछि राजेन्द्र गौतमले फेसबुकमा के लेखेको त्यसरी ? हेर्नुभएको छ ? तपाईंका मान्छेलाई किन कारबाही नगर्ने ? कारबाही गर्नुहोस् ।’

निकै आक्रोशित रुपमा नेपाल प्रस्तुत हुनुभएपछि अर्का अध्यक्ष प्रचण्डले बातावरण नबिग्रियोस भनेर सम्हाल्नेप्रयाश गर्नुभयो । उहाँले प्रधानमन्त्री आज सिंगापुर जाँदै हुनुहुन्छ । ‘अहिले आवेश, आक्रोश होइन, संयम अपनाऔं । प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरौं । म प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गर्छु, अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले छिट्टै पार्टीको एजेन्डामा छलफल गर्नका लागि प्रधानमन्त्रीले भनेझैं पार्टीको बैठक बोलाउने जानकारी पनि दिनुभयो । छलफल, बहस गर्दै सहमतिकै आधारमा हामीले पार्टी सञ्चालन गर्ने हो । आवश्यक पर्दा प्रधानमन्त्रीसँग पनि छलफल गर्छु नै । अन्य विषयमा पनि तपाईंहरू सबै नेताहरूसँग आवश्यक परामर्शका आधारमा निर्णयमा पुग्ने प्रयास हुन्छ । मिलेरै पार्टीलाई अगाडि लैजानुको विकल्पै छैन,’ प्रचण्डको भनाई थियो ।

प्रचण्डले प्रस्ताव गरेपछि महासचिव बिष्णु पौडेलले अध्यक्षसँग समय मागेर प्रस्ताव राख्नुभयो । प्रधानमन्त्री तथा पार्टी अध्यक्षको स्वास्थ्यलाभको कामना र उहाँको सिंगापुर उपचार भ्रमणका लागि शुभकामना दिएर पठाउने गरी स्वास्थ्यलाभको प्रस्ताव म बैठकमा राख्छु । बैठक सञ्चालनका अन्य विषय, विधिका विषयमा हामी छलफल/बहस गदै जाऔंला, पौडेलले भन्नुभयो । उहाँले प्रस्ताव राखेलगत्तै नेता नेपालले फेरि आफ्नो धारणा राख्न थाल्नुभयो ।

‘तपाईहरुका कुरा कत्ति मिठा ! यसैगरी पार्टी चलाउँदै जानुहोस,’ नेपालको भनाई थियो । उहाँको यही कुराले प्रधानमन्त्री ओलीलाई बिझायो । उहाँले तत्कालै भन्नुभयो, ‘तपाईले मेरो स्वास्थ्यबारेमा के सोच्नुहुन्छ ? तपाईंको चाहना मैले बुझेकै छु । कहाँकहाँ के भन्दै हिँड्नुभएको छ, बुझेकै छु । लौ भैगो, तपाईको शुभकामना चाहिएन मलाई ।’ ओलीको भनाईलाई नेपालले फेरि प्रतिवाद गर्नुभयो । ‘तपाईको स्वास्थ्यका बारेमा मैले कहाँ नकारात्मक टिप्पणी गरें ? एउटा मात्र प्रमाण जुटाइदिनुहोस् । म त्यत्तिसम्म हृदयविहीन र निष्कृष्ट मान्छे होइन । छानबिन गरौं,’ नेपालको भनाई थियो । यो चर्काचर्कीपछि अध्यक्ष ओलीले मिडियामा नोट अफ डिसेन्ट बुझाएर पार्टीको हुर्मत लिएको कुरा उठाउनु भयो ।

‘तपाई कहाँको विधिको कुरा गर्नुहुन्छ ? पार्टीमा तपाईको कुरा (असहमतिपत्र) बुझाउँदै–नबुझाई मिडियामा किन पहिले बुझाएको ? के यही हो तपाईको विधि र प्रक्रिया ? मिडियामा पहिले फरक मत बाँड्ने अनि पार्टीमा बुझाउन ल्याउने । त्यसमा कुनै छलफल हुँदैन । कोही अहिले सचिवालयमा थपिँदैनन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अरूले के लेखे के गरे भन्ने ? तपाईंले चाहिँ बुधबार (साप्ताहिक) मा के लेखाउनुभएको छ ? मैले हेरेको छैन भन्ठान्नुभएको छ ?’

दुई नेताबीच तिक्तता बढेपछि बामदेव गौतम र नारायणकाजी श्रेष्ठले सम्हाल्ने प्रयाश गर्नुभयो । ‘यसरी नसोचौं, प्रधानमन्त्रीको स्वास्थ्लाभ बैठकले गरौं, अरू विषयपछि छलफल गरौंला,’ दुवै नेताले भन्नुभयो । यति बेलासम्म नेताहरुबीच भनाभनको अवस्था आइसकेको थियो । यसलाई थप अगाडि बढन नदिन अध्यक्ष प्रचण्डले बठक टुंग्याउने प्रस्ताव गर्नुभयो । आज धेरै छलफल नगरौं । पछि गरौंला छलफल । आज विषय टुग्याऔं । प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामनाको माइनुट लेख्नुहोस् । आजलाई अब धेरै भयो, उठौं, प्रचण्डको यो भनाईपछि बैठकबाट नेताहरु उठे ।