धनगढी, २१ चैत । सेती प्रादेशिक अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी छनौटमा व्यापक चलखेल भइरहेको आरोप लागेको छ । प्रादेशिक अस्पतालले चिकित्सक, नर्सिङ कर्मचारी, अहेव, अनमी, ल्याब टेक्निसियिन लगायतको पदपूर्ति गर्ने भन्दै ७१ जनाका लागि विज्ञापन आह्वान गरेकोमा भर्ना प्रक्रियामा चलखेल भइरहेको आरोप लागेको हो । ६ चैतमा अस्पताल प्रशासनले ७ दिने सार्वजनिक सूचना जारी गर्दै ८ जना नवौँ तहका विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अधिकृत, ३५ जना स्टाफ नर्ससहितका ७१ जनाका लागि दरखास्त माग गरेको थियो। सबै पदमा एक हजार ८३ जनाले आवेदन दिएका छन् ।
अस्पतालले करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन मापदण्ड २०७९ अनुसार माग गरिएका कर्मचारी पदपूर्ति गर्नुपर्ने भए पनि आर्थिक र राजनीतिक चलखेल व्यापक भइरहेको सार्वजनिक भएको हो । अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टलेसमेत चिकित्सक र स्वास्थ्यकर्मीं छनौटमा कुनै दबाब र प्रभावमा नपर्न अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
आज अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउँदै कर्मचारी पदपूर्तिमा कसैको दवाव र प्रभावमा परेर क्षमतावान, अनुभव र दक्ष कर्मचारी अवसर नपाउने हुन भन्ने चिन्ता सिर्जना भएको बताउनुभयो । उहाँले पदपूर्ति गदा ऐन, नियम, कानून तथा मापदण्डअनुसार पदपुर्ति गर्नुपर्ने भन्दै स्वास्थ्य सेवा संवेदनशिल भएका हुँदा सबै नागरिकलाई अनुभूति हुनेगरी प्रचलित संविधानको परिधिभित्र रही सेवा प्रदान गर्न निर्देशन समेत दिएका छन् । व्यवस्थापन समितिमा कुनै न कुनै राजनीतिक दलसँग आस्था र विचार राख्ने व्यत्ति भए पनि अस्पतालको विकासका लागि दलगत वा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।













प्रतिक्रिया दिनुहोस्