जनता टाइम्स

२१ चैत्र २०७९, मंगलवार १५:१७

एमालेलाई उपनिर्वाचन – बम्पर उपहार, नाफाको खेती !


यसिमा महत/ काठमाडौं । बारा, चितवन र तनहुँ जिल्लाको एक/एक वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । यी तीनै क्षेत्रमा ४ मंसिरमा भने एमालेले जितेको होइन । बारामा जसपासंगको गठबन्धन भएकाले एमालेको प्रतिस्पर्धी नै थिएनन् । एमालेका मतदाताले जसपाका उम्मेदवार रामसहाय यादवलाई नै मत दिएको थियो भने चितवन र तनहुँमा एमाले पराजित भएको थियो । अहिले हुने उपनिर्वाचनमा एउटा सिट जिते पनि एमालेलाई नाफै हुने भए पनि ती वटैमा चिट्ठा पर्ने स्थिति रहेको छ ।

बारामा माओवादी र कांग्रेससमेतको समर्थनमा उम्मेदवारी दिएका जसपा अध्यक्ष उपेन्द्र यादव, निकै तामझामका साथ रास्वपामा प्रवेश गरेर चुनाव लड्न बारा पुगेका पूर्व डिआइजी रमेश खरेल दुवै सो क्षेत्रका लागि नौला अर्थात बाहिरिया उम्मेदवार हुन् । उता गठबन्धनमै रहेको नागरिक उन्मुक्ति र जनमतले छुट्टाछुट्टै उम्मेदवारी दिनुले यस क्षेत्रमा एमालेका लागि चिट्ठा पर्न लागेको हो ।

यो क्षेत्रमा एमाले बाराकै पुराना नेता पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादव बाहिरिया भएको र मधेसवादी सोचका मतदाताको मत नागरिक उन्मुक्ति र जनमतमा बाँडिने भएकाले एमालेका लागि सहज हुँदै गएको स्थानीय बताउन थालेका छन् । गत मंसिरमा भएको निर्वाचनमा समानुपातिक मतमा मधेसमा जनमत पार्टीको जवर्जस्त उभार देखिएको थियो । यसपटक उनी उपेन्द्रलाई जसरी पनि हराउन बाराको सोही निर्वाचन क्षेत्रमा केन्द्रीत भएका छन् ।

यसअवधिमा सिके राउतले आफूलाई भर्खरै उदाएका नयाँ पार्टी रास्वपा र नागरिक उन्मुक्तिभन्दा निकै अब्बल बनाएका छन् । रास्वपा र नागरिक उन्मुक्तिको साख खस्कदो भए पनि जनमतको साख भने मनमतको बढ्दो छ । उपेन्द्र यादवभन्दा जनमतकै उम्मेदवारले मत बढी ल्याउने आँकलनसमेत हुन थालेको छ । उता विचार, संगठनका आधारमा एमालेको भोट बैंकमा यी अन्य पार्टीका कुनै उम्मेदवार खोट्याउन नसक्ने भएकाले पनि बारामा पुरुषोत्तमले वाजी मार्ने सम्भावना बलियो बन्दैं गएको छ ।

चितवनमा रास्वपाका सभापति रवि लामिछानेले मंसिरको निर्वाचनमा निकै बढी मत ल्याएर निर्वाचित भएका थिए । एमालेको पकड क्षेत्र मानिएको यो क्षेत्रमा गाउँका मतदाताले एमालेको साथ नछाडेको भए पनि सशरिया मतदाता रवि लामिछानेको गुलिया गफमा बहकिदाँ एमालेले पराजित हुनु परेको थियो । तर अहिले स्थिति परिवर्तन भइसकेको छ । यो क्षेत्रमा अहिले भइरहेको उपनिर्वाचन लामिछानेको व्यक्तिगत हठका कारण राज्यले अनावश्यक व्ययभार व्यहोर्नु परेको कुरा उठन थालेको छ ।

जानीजानी राज्यलाई व्ययभार थप्नु भ्रष्टाचार सरहको कसुर हो । कतिपय देशमा यस्तो व्यवभार सम्वन्धित उम्मेदवारलाई बोकाउने कानुन छ । तर, नेपालमा यस्तो कुनै कानुन नभएकाले लामिछानेले साखुल्ये पल्टने अवसर पाएको जानकारहरू वताउँछन् । गत मंसिरको निर्वाचनमा ‘नो भोट अगेन’ को नाराले जनतालाई लोभ्याएका उनले सांसदको शपथ खाइनसक्दै आफ्नै भनाईको उल्टो काम गरेको कुरा अहिले चितवनमा मुद्दा बनेको छ ।

‘नो, नो भोट अगेन’ रवि जसलाई नट अगेन भनेका थिए उनीहरूसंगै घाँटी जोड्न पुगेका थिए । यसले रविको मात्र होइन रास्वपाकै साख गिराएको छ । उनले चुनावमा जे-जे गर्दिन भनेका थिए, चुनाव जितेपछि त्यही–त्यही गर्न थालेको चितवनवासीको बुझाई छ । अहिले पनि मंगलबार मात्र सर्वोच्चमा उनको राहदानी विषयको पेशी छ भने निर्वाचन कार्यालयमा पनि उनीमाथि दावीविरोध परेको छ । यसले यस उपनिर्वाचन एमालेका लागि गुमेको सिट फर्काउने अवसर प्राप्त भएको छ ।

तनहुँमा २०७४ को निर्वाचनमा एमालेले नै जितेको क्षेत्र हो अहिले निर्वाचन भइरहेको क्षेत्र । मंसिर ४ को निर्वाचनमा अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले आफूलाई जीवनको अन्तिम पटक जिताइदिन मतदातामाझ अनुनय गरेकाले एमाले उम्मेदवार पराजित हुनु परेको थियो । शारीरिक रूपमा बृद्ध पनि भएकाले अन्तिम पटक भनेरै भोट मागेकाले लामो राजनीतिक जीवन विताएका तनहुँका धर्तीपुत्रसमेत रहेकाले रामचन्द्र पौडेलले जितेको कसैको सामु लुकेको छैन ।

त्यसमा पनि माओवादी अध्यक्ष पटक–पटक तनहुँको चुनावी अभियानमा पुगेर अबको प्रधानमन्त्री रामचन्द्र पौडेल नै हो भनेर दावी गरेकाले पनि तनहुँका मतदाता पौडेलसंग लहसिएका थिए । तर, अहिले त्यस्तो कुनै स्थिति छैन । भर्खरै कांग्रेसबाट रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्ले बाहिरिया हुन् भने उनलाई त्यस क्षेत्रमा प्राय: मतदाताले चिन्दैनन् ।

काँग्रेस सरकारमा छँदा योजना आयोगको उपाध्यक्ष भएका उनको विगत देखिसकिएको छ । अर्को आफैले लेखेको काँग्रेसको घोषणापत्र कार्यान्वयन गर्ने बेला पार्टी नै छाडेकाले र सबैभन्दा ठूलो कुरा उनको अहंमताले नै उनी नराम्ररी पछारिने गलभग निश्चितजस्तै स्थानीयले बताउन थालेका छन् । यसरी यसअघि नजितेको तीनै क्षेत्र मध्ये एउटै जित्दा पनि एमालेलाई नाफा नै हुनेमा तीन वटै क्षेत्रमा जित्ने आधार बन्दा उपनिर्वाचन एमालेका लागि बम्पर उपहार सरह हुन लागेको हो ।