काठमाडौं, २२ चैत्र । दमक नगरपालिका वडा नम्बर ५ का दुर्गा प्रसाद कँडेलले समयमा किस्ता नतिरेको भन्दै एनएआईसी एसिया बैंकले घरमा नै सुरक्षा गार्ड खटाएको छ । बैंकले ३ दिन सुरक्षा गार्ड खटाएको हो।
दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म खटाइएका सुरक्षा गार्डले कँडेलको घरमा सुरक्षा दिने गर्नुभएको थियो।
गार्डलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको पहलमा फिर्ता पठाइएको हो। ३ महिनादेखि कँडेलले बैंकको साँवा तथा ब्याज तिर्न सक्नुभएको थिएन । पैसा तिर्छुभन्दा पनि बैंकका कर्मचारीले गाली गर्ने गरेका उहाँकी श्रीमती चन्द्रकलाले बताउनुभयो । खाएपछि समयमा तिर्नु पर्दैन ? भनी बैंकका कर्मचारीले अपमानजनक शब्द बोल्ने गरेका उहाँले दुखसो पोख्नुभयो। ४ दिन पहिले बैंकले जति हुन्छ त्यति रकम लिएर आउनु भनेको र आफूले १० हजार रुपैयाँ मात्र लगेर जम्मा गरेको कँडेलले बताउनुभयो ।
पैसा जम्मा गरेर घरमा आइनपुग्दै बैंकले धितो सुरक्षा गर्न भन्दै सुरक्षा गार्ड खटाएको हो। उहाँले १ करोड रुपैयाँ ऋण लिनुभएको थियो । साँवा ब्याज गरेर ९७ लाख रुपैयाँ तिर्न बाकी रहेको कँडेलले बताउनुभयो । बैंकले खटाएका सुरक्षा गार्डले घरमा आउनेहरूलाई सलाम गर्ने गर्नुभएको थियो।
उहाँले ३ वर्षअघि उक्त ऋण लिनुभएको थियो । बैंकले नै बोलाएर कर्जा दिएको कँडेल परिवारको दाबी छ । उहाँ प्लटिङ व्यवसाय गर्नुहुन्थ्यो । ‘कित्ताकाट लामो समयसम्म रोकिँदा समस्या आयो,’ उहाँले भन्नुभयो ‘आर्थिक मन्दीका कारण पनि जग्गाको कारोबार भएको छैन ।’बैंकले समयमा साँवा ब्याज नतिर्दा चिठ्ठी काट्ने, सूचना टाँस्ने र लिलामीको प्रक्रिया गर्नुपर्नेमा घरमै सुरक्षाकर्मी पठाएर आफूहरूलाई बन्धक बनाएको कँडेल बताउनुहुन्छ ।
बैंकका मुख्य गुनासो व्यवस्थापन अधिकारी अर्जुनराज खँनियाले भने यो विषयमा कुनै जानकारी नभएको बताउनुभयो । बुझेर मात्रै जानकारी गराउन सक्ने उहाले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्