जनता टाइम्स

२२ चैत्र २०७९, बुधबार १६:४०

गौतम बुद्ध रंगशालाका लागि परिषद्ले थाल्यो पहल, अढाई वर्षमै सक्नेगरी टेन्डर गर्ने तयारी


काठमाडौं, २२ चैत । चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला सरकारले जिम्मा लिने निर्णयसँगै राष्ट्रिय खेलकुद परिषद गृहकार्यमा जुटेको छ । परिषदले उक्त रंगशालाको निर्माण अगाडि बढाउन टेन्डर प्रक्रिया थाल्ने तयारी गरेको बताइएको छ । दुई दिनअघि मन्त्रिपरिषद बैठकले गौतम बुद्ध रंगशाला सरकारले जिम्मा लिएर आफैं निर्माण गर्ने निर्णय गरेको थियो । सरकारले सैद्धान्तिक निर्णय गरेपछि परिषदले यसका लागि प्राविधिक तयारीहरु सुरु गरेको हो । परिषद स्रोतका अनुसार यसका लागि विभिन्न तहका छलफलहरु भइरहेका छन् ।

‘अब यो रंगशालाको निर्माण परिषद्ले अगाडि बढाउँछ । यसका लागि हामी सबै निकायहरुसँग छलफलमा छौं’, परिषद् स्रोतले बतायो । रंगशाला निर्माण गर्ने धुर्मुस सुन्तली फाउन्डेसनसँग पनि परिषद्ले छलफल गरी अगाडि बढ्नेछ । रंगशालाको लागत अनुमान र स्रोतका विषयमा विश्लेषण गरेर सरकारसँग ठोस प्रस्ताव राख्ने तयारी गरिएको छ । त्यसपछि टेन्डरको प्रक्रियामा जाने बताइएको छ । ‘सुरुमा ऋण फरफारक गर्नुपर्यो । त्यसपछि सबै डकुमेन्टहरुको अध्ययन गर्ने, डीपीआर हेर्नेलगायतका कुराहरु छन् । अनि टेन्डर आह्वान हुन्छ र सरकारलाई बजेटका लागि प्रस्ताव गर्छौं’, परिषद् स्रोतले भन्यो ।

धुर्मुस–सुन्तली फाउन्डेसनले यो रंगशालाको लागत ३ अर्ब अनुमान गरेको थियो । सरकारी प्रतिवेदनअनुसार अहिलेसम्म ५७ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ भने फाउन्डेसनले ३९ करोड ८० लाख रकम विभिन्न स्रोतबाट संकलन गरेको थियो । अहिले १८ करोड ४३ लाख रुपैयाँ फाउन्डेसनलाई ऋण छ । स्रोत अभावका कारण रंगशाला निर्माणलाई निरन्तरता दिन नसकेपछि फाउन्डेसनले स्वामित्व हस्तान्तरणका लागि भरतपुर महानगरपालिकालाई पत्राचार गरेको थियो । तर, महानगरले फाउन्डेसनलाई लागेको ऋण नस्विकार्दा स्वामित्व हस्तान्तरणमा विलम्ब भएको थियो । धुर्मुसले मञ्जुरीनामा दिइसकेको भए पनि ऋण चुक्ता नगरेसम्म सरकारले रंगशाला आफ्नो स्वामित्वमा लिन नैतिक समस्या पर्ने भने देखिन्छ ।