जनता टाइम्स

६ भाद्र २०७६, शुक्रबार १८:३१

माधव नेपालको प्रष्टिकरण : अध्यक्ष ओली र मेरो बिवाद श्रीमान–श्रीमतीको घर झगडा जस्तै


काठमाडौं, भदौं ६ । सत्तारुढ नेपाल कम्युनिस्ट पाटी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफू र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।

हिजो भएको सचिवालयको बैठकको बिषयलाई लिएर नेता कार्यकर्ता चिन्तित बनेपछि बरिष्ठ नेता नेपालले अध्यक्ष ओली र आफूबीचको भनाभन घरभित्रको श्रीमान–श्रीमतीको झगडा जस्तै भएकोले चिन्ता नलिन आग्रह गर्नुभएको हो । ‘नेताहरुबीच भनाभन भएछ भनेर पूर्ववक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो, अत्तिनु केही पनि पर्दैन, घरमा श्रीमान–श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? त्यही हो,’ सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले भन्नुभयो । उहाँले घर झगडा भयो भनेर चिन्ता गर्दा आफैलाई घाटा हुने बताउनु भयो ।

‘विहे गर्नु नै वेकार रहेछ । छोराछोरी जन्माउनु नै वेकार रहेछ भन्ने ? यो जीवनको यथार्थ हो। पछाडि हट्नु हुँदैन । आएका समस्यालाई कसरी समाधान गर्ने ? समस्या त आउँछन । नआओस् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ । सामाजिक जीवनमा प्रवेश गर्ने हो भने अनेकौ समस्याहरु आउँछन्। बाधा अवरोध हरु आउँछन, ती समस्याहरुको सामना गर्ने आँँट हुनुपर्यो । सामथ्य पनि हुनुपर्छ, यदी तपाईमा सामथ्र्य छैन भने तपाई केही पनि गर्न सक्नुहुन्न,’ नेता नेपालले भन्नुभयो ।

विषयवस्तुमाथिको बुझाईमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भईरहने भन्दै उनले त्यसलाई श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्न उहाँले आग्रह गर्नुभयो । झगडा भयो भनेर वैबाहिक जीवनप्रति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने नेपालको भनाई थियो । नेता नेपालले राजनीतिमा पनि भागेर नभई समस्यासँग जुध्दै र सामाना गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

नेता नेपालले पारिवारिक, राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्यता गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने आफ्नो निश्कर्ष सुनाउनु भयो । उहाँले ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने गीतको दृष्टान्त दिँदै व्यक्तिको सोच, दृष्टिकोण, सामथ्र्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताउनुभयो ।