जनता टाइम्स

६ भाद्र २०७६, शुक्रबार १८:५७

पत्नीले नै सुपारी दिएर गराइन पतिको हत्या, फेसबुकबाट खुल्यो हत्याराको पोल


धनुषा, भदौं ५ । महोत्तरीको बर्दिबासमा पत्नीले नै सुपारी दिएर पतिको हत्या गराएको तथ्य खुलेको छ । प्रहरीले आज चार ४ जना अभियुक्तलाई सार्वजनिक गर्दै यो तथ्य बाहिर ल्याएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक (एस्पी) श्यामकृष्ण अधिकारीका अनुसार बर्दिबास नगरपालिका–३, गौरीडाँडाका ३६ वर्षीय सरोज भनिने श्रवण थापालाई उनकै श्रीमती पूजा थापाले सुपारी दिएर हत्या गराएको तथ्य खुलेको हो । पूजाले श्रीमानको हत्या गराउन आफ्नै बहिनीमार्फत पेसेवर अपराधीको सहयोग लिएको अनुसन्धानको क्रममा देखिएको एसपी अधिकारीले बताउनुभयो ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेर आज सर्वजनिक गरेको छ । पक्राउ पर्नेमा सर्लाही धनकौल गाउँपालिका ३, हरकटवाका २७ वर्षीय प्रमोद सिंह, सोही गाउँपालिकाको वडा २ बस्ने २७ वर्षीय मुकेश साह, रौतहटको गढीमाई नगरपालिका ६, बखरी टोलका ३३ वर्षीय जिल्ला भनिने श्रीनारायण महरा र ४६ वर्षीय टिआई सहनी रहेका छन । घटनामा अन्यको पनि संलग्नता रहेको छ । सरोजको हत्यामा करिब एक दर्जनविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएका छन ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय बर्दिबास सहितका प्रहरी टोलीले महिनादिनदेखि सरोज हत्याको अनुसन्धान गरिरहेका थिए । गत असार ३१ गते राति साढे १० बजेको समयमा बर्दिबास नगरपालिका ३, गौरीडाँडाका ३६ वर्षीय सरोज भनिने श्रवण कुमार थापाको स्थानीय विपी राजमार्गअन्तर्गत बर्दिबास ३ स्थित स्मृति पार्क नजिकै अचेत अवस्थामा भेटिएका थिए ।

प्रहरीले तत्कालै उनलाई बर्दिबासस्थित शुभश्वस्तिक अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । सुरुमा सो घटनालाई प्रहरीले सवारी दुर्घटनाको रुपमा लिए पनि पछि अनुसन्धानको क्रममा नियोजित ढंगले थापाको हत्या गरिएको संकेत मिलेपछि थप अनुसन्धान अघि बढाएको थियो ।

टाउकोमा दुई ठाउँमा गम्भीर चोट देखिएको र सोही कारण उनको मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा जनाइएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान अघि बढाएको थियो । प्रहरीका अनुसार पत्नी पुजाले पतिको हत्या गर्नका लागि २ लाख ७५ हजार रुपैयाँमा सहमति भएको अनुसन्धानको क्रममा अभियुक्तले स्वीकार गरेका छन ।