काठमाडौं, चैत २५ । नेपाली कांग्रेसको नेतृत्वमा मात्रै नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा र बिकास हुने निश्कर्षसहित माधवकुमार नेपाल अघि बढेपछि नेकपा एकीकृत समाजवादीमा बिद्रोहको लरह सुरु भएको छ । केही दिनयता सो पार्टीका पदाधिकारीदेखि जिल्ला जिल्लाका नेता–कार्यकर्ताहरु धमाधम नेकपा एमालेमा फर्कन थालेका छन ।
चुनावमा जनताले एमालेबाट गरिएको बिद्रोह गलत रहेको प्रमाण दिएको भन्दै नेताहरु एमालेमा फर्कन थालेका हुन । नेकपा एकीकृत समाजवादीको औचित्य सकिएको निश्कर्षससहित सो पार्टी छाडेर नेकपा एमाले फर्कने निश्कर्षमा बरिष्ठ नेता मुकुन्द न्यौपानेसहित उपाध्यक्ष केदार न्यौपाने, चुढामणि जंगलीलगायत रहनुभएको छ । यस्तै पूर्वमन्त्री मेटमणि चौधरीका स्वकीय सचिवलगायत दर्जनौं नेताहरु एमाले फर्किसक्नु भएको छ ।
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसी र स्वकीय सचिव गौरवसिंह महरासँगै पार्टीकी केन्द्रीय परिषद सदस्य मीना गुरुङ, नेताहरु सीता चौधरी, हिमाल अधिकारी, किसन भट्टराई एमालेमा फर्किनु भएको हो ।
नेकपा एमाले दाङका इञ्चार्ज तथा पोलिटव्युरो सदस्य नरुलाल चौधरी, केन्द्रीय सदस्य चेतनारायण आचार्य, केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मालगायतले उहाँहरुलाई एमालेमा स्वागत गर्नुभएको छ ।

एकीकृत समाजवादीभित्र व्यक्तिवादी अहंकारवाद, निरंकुश एवम् स्वेच्छाचारी प्रवृत्ति मौलाउँदै गएको र पार्टीको माध्यमबाट नेपाली कम्युनिष्ट आन्दोलनको शुद्धीकरण हुन नसक्ने ठहर गर्दै उहाँहरुले चैत ४ गते पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गर्नुभएको थियो ।
‘एकीकृत समाजवादी पार्टीको भविष्य छैन । कुनै पार्टीमा विलय हुन्छ या यसै सकिन्छ’, युवा नेता भुमाण्डव केसीले भन्नुभएको छ, ‘समय परिवर्तनशील छ । त्यसैले विचारमा पनि परिवर्तन आउन जरुरी छ । हामी हाम्रो पुरानै घरमा फर्कियौं । यहाँबाटै नेपाली जनताको न्याय, समानता र मुक्तिको संघर्षमा अघि बढ्छौं ।’
यस्तै उपाध्यक्ष केदार न्यौपाने, स्थायी कमिटी सदस्य चुडामणि जंगली पनि एमाले फर्कने निर्णयमा पुगिसक्नु भएको छ भने बरिष्ठ नेता मुकुन्द न्यौपानेले आज पत्रकार सम्मेलनमार्फत नेकपा एकीकृत समाजवादीमा नरहने घोषणा गर्न लाग्नुभएको छ ।
बरिष्ठ नेता मुकुन्द न्यौपानेले माधव नेपाल इण्डो–अमेरिकन एजेण्टमा पतन भएको ठोकुवासमेत गर्नुभएको छ ।पार्टीमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहनुभएका बरिष्ठ नेता न्यौपानेले लामो समयदेखि नेकपा एसभित्र फरक मत राख्दै आउनु भएको थियो । उहाँले कांग्रेसको सहयोगी भएर वामपन्थी आन्दोलनको हित नहुने भन्दै एमालेसँग मिल्न लिखित प्रस्ताव समेत राख्नुभएको हो ।
न्यौपानेले पछिल्लो पटक माधव नेपालले राष्ट्रपति पद लिएर पार्टी एकता गर्ने प्रस्ताव समेत नमानेको भन्दै अध्यक्ष नेपाल इण्डो–अमेरिकन एजेण्टमा पतन भएको ठोकुवा गर्नुभएको हो । न्यौपानेले अव पतन भइसकेका माधव नेपालबाट नेपालको कम्युनिस्ट र देशभक्तिको आन्दोलनको नेतृत्व नहुने पनि बताउनु भएको छ । यता झलनाथ खनालले पनि माधव नेपालबाट राष्ट्रियता र कम्युनिस्ट आन्दोलनको नेतृत्व नहुने निश्कर्ष सुनाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्