जनता टाइम्स

६ भाद्र २०७६, शुक्रबार २०:१२

रवि लामिछानेको आरोपपछि हिरासत कक्षमै भेटन पुगे आईजीपी खनाल : दिए यस्तो जवाफ


काठमाडौं, भदौं ६ । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आत्महत्या दुरुत्साहनमा पक्राउ परी प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई सुरक्षाको चिन्ता नगर्न सुझाव दिनुभएको छ । आफू प्रहरीबाटै असुरक्षित रहेको महसुस भएको भन्दै पत्नी निकिता पौडेलमार्फत सामाजिक सञ्जालमा सन्देश पठाएपछि आइजीपी खनाल आफै चितवन पुगेर लामिछानेलाई भेटी सुरक्षाको जिम्मा नेपाल प्रहरीको रहेको प्रष्ट पार्नुभएको हो ।

रविले प्रहरीमाथि आशंका गरेको कारण आइजीपी खनाल आफै आज जिल्ला प्रहरी कार्यालय चितवन पुगेर लामिछानेसँग भेट गर्नुभएको हो । सो क्रममा उहाँले लामिछानेलाई प्रहरी हिरासतमा कोही पनि असुरक्षित नहुने प्रष्ट पार्नुभयो । रुपन्देहीमा हुने एक कार्यक्रममा सहभागी हुन जाने क्रममा आकस्मिक रुपमा चितवन प्रहरी कार्यालयमा पुग्नुभएका आईजीपी खनालले प्रहरी कार्यालय तथा हिरासत कक्षको अनुगमन समेत गर्नुभयो ।

अनुगमनका क्रममा आइजीपी खनालले शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका सञ्चारकर्मी लामिछाने, युवराज कँडेलेसहितका थुनुवालाई भेट गर्नुभयो । भेटका क्रममा आईजीपी खनालले लामिछानेलाई प्रहरी हिरासतमा कोही पनि असुरक्षित नहुने भन्दै अनुसन्धानमा सघाउन आग्रह गर्नुभएको कार्यवाहक प्रवक्ता एसएसपी उत्तमराज जोशीले जानकारी दिनुभयो ।

‘प्रहरी हिरासतमा कोही पनि असुरक्षित हुँदैन । कानुनसम्मत तरिकाले मानवअधिकार मैत्री न्याय हुन्छ,’ लामिछानेलाई आइजीपी खनालको भनाई उधृत गर्दै एसएस्पी जोशीले भन्नुभयो, ‘नेपाल प्रहरी कुनै पनि कुरामा आग्रह र पूर्वाग्रही नभएर आफ्नो कर्तब्य पालनामा प्रतिबद्ध छ ।’ यसअघि लामिछानेले आफू प्रहरी हिरासतमै असुरक्षित भएको सन्देश पठाउनु भएको थियो । श्रीमती निकिता पौडेलको फेसबुकमार्फत रविले यस्तो कुरा बताएपछि आइजीपी नै हिरासतमा भेटन पुग्नुभएको हो ।

पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा नाम जोडिएपछि साउन ३० गते न्युज २४ को कार्यालयबाट लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई दुई पटक गरेर १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । लामिछानेसहित तीनै जनलाई आइतबार जिल्ला अदालत चितवनमा उपस्थित गराइदैछ । अनुसन्धानको क्रममा हिरासतमै रहेका ब्यक्तिले प्रहरीमाथि प्रश्न् उठाएपछि संगठन प्रमुख आफै पुग्नुभएको हो ।

‘प्रहरी हिरासतमै असुरक्षित छु भन्ने कुरा आएपछि म आफै भेटन आइपुगेको छु, ढुक्क हुनोस, तपाई सुरक्षित हुनुहुन्छ,’ लामिछानेलाई आइजीपी खनालले भन्नुभयो ।