काठमाडौं, चैत २८ । सभामुख देवराज घिमिरेले आयोजना गर्नुभएको तीन दलका शीर्ष नेताहरुको बैठक सकारात्मक निश्कर्षतर्फ उन्मुख भएको छ ।
सभामुख निवास बालुवाटारमा आज भएको प्रधानमन्त्रीसहित शीर्ष तीन दलका नेताहरूबीचको छलफल सरकारात्मक भएको हो ।
बैठकमा संक्रमणकालीन न्याय निरूपण (टीआरसी) लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।
सभामुख सचिवालयका अनुसार संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन दलका शीर्ष नेताहरूबीच सहमति बनेको छ ।
शीर्ष नेताहरूको अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्थ्यो ।
यसैगरी नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल छलफलमा सहभागी हुनुहुन्थ्यो ।
संसदीय सुनुवाइ समिति गठन, संघीय संसद्को संयुक्त कार्यसंचालन नियमावली निर्माण र विधेयकलगायतका विषयमा सभामुखले दलहरूबीच छलफल हुनुपर्ने भन्दै यसअघि पनि बैठक बोलाउनु भएको थियो ।
सोमवार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा आज साँझसम्म संसदीय समितिका सदस्यका नाम दिने सहमति भएको थियो ।














प्रतिक्रिया दिनुहोस्